सिंहदरबारभित्रैबाट कामपाले गर्‍यो चार बालश्रमिकको उद्धार

सिंहदरबारभित्रैबाट कामपाले गर्‍यो  चार बालश्रमिकको उद्धार

काठमाडौं। काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रै चार जना बालश्रमिकको उद्धार गरेको छ।

बुधबार सिंहदरबारभित्रका विभिन्न खाजा घरमा काम गर्ने चार बालश्रमिकलाई महानगरपालिकाले अनुगमन गरी चार बालश्रमिक उद्धार गरेको हो। काठमाडौ महानगरपालिका मेयरका सचिवालय सदस्य धिरज जोशीले सिंहदरवारभित्रका विभिन्न क्यान्टिनमा काम गर्ने दुई बालक र दुई बालिकालाई उद्वार गरिएको बताए। उनले चार जना बालबालिका मध्ये तीन जनाको नागरिकता नभएको र एक जनाको नागरिकतामा १६ वर्ष उमेर भन्दा कम देखिएको बताए।

उनले महानगर पालिकाले काठमाडौं महानगरभित्र हुने बाल शोषणलाई अन्त्य गर्नको लागि सिहदरबार तथा व्यक्तिको घरमा काम गर्ने बालबालिकालाई उद्वार गर्ने बताए। उनले देशको सबै भन्दा ठूलो प्रशासनिक केन्द्र जहाँ नागरिकता नलिई छिर्न नपाउने प्रशासनिक क्षेत्रमा नागरिकता नबनेका कलिला बच्चाहरुलाई काममा लगाएको पाइएको बताए। उनले भारतीय बालबालिका थिए भन्ने गुनासो आए पनि अनुगमनका क्रममा नभेटिएको बताए।

उनले बालश्रम विरुद्ध महानगरपालिका निरन्तर लागि रहने बताए। उनले महानगरपालिका बालबालिकाको हकलाई लिएर गम्भिर रहेको बताए। उनले दिनभरी काम गर्नु पर्ने र विद्यालय जान नपाउने भन्ने खबर आएपछि उनीहरुलाई उद्वार गरीएको बताए। उनले महानगर पालिकाले सबै बाल उद्वारसम्बन्धि सरकारी निकायहरुसँगको समन्वयमा काम गरिरहेको बताए।

महानगरपालिका केही दिनदेखि बालश्रमिक विरुद्ध अभियान चलाइरहेको छ ।