कुवेतमा कामदार बस्ने भवनमा आगलागी, ४१ जनाको मृत्यु भएकोमा नेपाली पनि परेको आशंका

कुवेतमा कामदार बस्ने भवनमा आगलागी, ४१ जनाको मृत्यु भएकोमा नेपाली पनि परेको आशंका

काठमाडौं । दक्षिण कुवेतको मङ्गाफ सहरमा कामदार बस्ने एक ६ तले भवनमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । आगलागीमा परी कयौँ घाइते भएका छन् ।

“आगलागीले ठूलो क्षति गरेको भन्ने सूचना पाउनबित्तिकै दूतावासबाट तीनजना बुझ्नका लागि पठाएको छु,” कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले  भने, “उक्त घरमा नेपाली पनि रहेको भन्ने गैरआवासीय नेपाली साथीहरूले भन्नुभएको छ । विस्तृत विवरण आएको छैन ।”

उनका अनुसार घटनास्थलमा बुझ्नका लागि कुवेतस्थित नेपाली दूतावासका कन्सुलर सुजनी राना, श्रम सहचारी गिरीप्रसाद आचार्यसहित तीन जनालाई पठाइएको छ । “अहिलेसम्म घटनामा नेपाली परेको भन्ने कुनै सूचना आएको छैन । तर त्यहाँ नेपाली पनि रहेको भन्ने सूचना आएपछि बुझ्नका लागि तीनजना पठाएका हौँ,” राजदूत लम्सालले भने ।

आगलागीको घटना स्थानीय समयअनुसार बुधबार बिहान ६ बजे भएको थियो । आगलागी नियन्त्रणमा आएपछि कुवेतका उपप्रधानमन्त्री शेख फहाद युसुफ साउद अल–सबाह घटनास्थल पुगेका थिए । उनले नै कम्तीमा ४१ जनाको मृत्यु भएको पुष्टि गरेका थिए ।

उपप्रधानमन्त्री अल–सबाहले घरजग्गा मालिकमाथि नियमको उल्लघन गरी भवन बनाएको आरोप लगाएका छन् ।

जुन भवनमा आगलागी भएको थियो, त्यो भवनमा कामदारहरू बस्नका लागि प्रयोग हुन्थ्यो । त्यहाँ ठूलो संख्यामा कामदारहरू थिए । आगलागीपछि दर्जनौँको उद्धार गरिए पनि आगोको धुवाँको कारण धेरैको मृत्यु भएको बताइएको छ ।