काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’भारत प्रस्थान गरेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल आइतबार अपरान्ह सवा १ बजेतिर नयाँदिल्ली प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे,राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधान एवं भौतिक मन्त्री रघुवीर महासेठ, उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत उच्च अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए।
प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र मोदीबीच आइतबार नै भेटवार्ता हुने कार्यक्रम रहेको छ। भ्रमण टोलीमा प्रधानमन्त्री दाहालसँगै छोरी गंगा दाहाल,कानुन,न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी तथा उच्चपदस्थ सरकारी कर्मचारी रहेका छन्। प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्कने कार्यक्रम छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथ ग्रहणमा प्रधानमन्त्री दाहाल सहभागी हुने निर्णय गरेको थियो।
यसअघि सन् २०१४ मा प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए। त्यसबेला पाकिस्तानबाहेक दक्षिण एसियाली मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख समारोहमा सहभागी भएका थिए।
गत बुधबार प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता भएको थियो। त्यस अवसरमा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो। प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताएका थिए।