टी-२० विश्वकपमा आज भारत र पाकिस्तानबीच भिडन्त हुँदै

टी-२० विश्वकपमा आज भारत र पाकिस्तानबीच भिडन्त हुँदै

काठमाडौं। जारी टी-२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदै छन्। आज पहिलो खेल समूह सी अन्तर्गत वेस्ट इन्डिज र युगाण्डाबीच खेल हुँदै छ।

गुयनास्थित प्रोभीडेन्स ओभल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुने छ।

वेस्ट इन्डिज र युगाण्डाबीच पहिलो पटक टी-२० खेल हुन लागेको हो। जारी विश्वकपमा वेस्ट इन्डिजले पहिलो खेलमा पिएनजीलाई पराजित गरेर २ अंक हासिल गरेको छ। त्यस्तै युगाण्डाले भने यस अघि खेलेका २ मध्ये एक जित र एक हार व्यहोरेको छ। युगाण्डा आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो भने दोस्रो खेलमा पिएनजीमाथि ऐतिहासिक जित हासिल गरेको थियो।

त्यस्तै आज दोस्रो खेल समूह ए अन्तर्गत भारत र पाकिस्तानबीच हुँदै छ। न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ।

यस खेललाई यस विश्वकपकै सबैभन्दा ठूलो खेल भनिएको छ। जारी विश्वकपमा भारतले आयरल्याण्डविरुद्ध जित हासिल गरेर सुखद शुरुवात गरेको छ भने पाकिस्तानले भने आफ्नो पहिलो खेलमा अमेरिकासँग हार बेहोरेर खराब शुरुवात गरेको छ।

भारत र पाकिस्तानबीच अहिलेसम्म कुल १२ टी-२० खेल भएका छन्। जसमा भारतले ९ खेलमा जित हासिल गरेको छ भने पाकिस्तानले ३ खेल जितेको छ। त्यस्तै टी-२० विश्वकपमा भारत र पाकिस्तान अहिलेसम्म ७ पटक आमने सामने भएका छन्। जसमा भारतले ५ पटक जितेको छ भने पाकिस्तानले एक पटक जितेको छ। त्यस्तै एक खेल अनिर्णित बनेको थियो।

त्यसैगरी आज तेस्रो खेल समुह बी अन्तर्गत ओमान र स्कटल्याण्डबीच हुदै छ । एन्टीगास्थित सर भिभीयन रिचार्ड स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति १०: ४५ बजेदेखि शुरु हुने छ।

जारी विश्वकपमा ओमानले आफ्ना दुवै खेलमा हार बेहोरेको छ। ओमानले नामिबिया र अस्ट्रेलियासँग हार बेहोरेको थियो । त्यस्तै स्कटल्याण्डले भने नामिबियालाई पराजित गरेको थियो भने इङल्याण्डसँगको खेल बर्षाले रद्ध हुदा एक अंक हासिल गरेको थियो। ओमान र स्कटल्याण्डबीच अहिलेसम्म कुल ४ टी-२० भएका छन्। जसमा चारै खेल स्कटल्याण्डले जितेको छ।