काठमाडौं। आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विदेश श्रमका लागि गएका श्रमिकको कुनै कारण हत्या भएको त्यसको जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन्। रोजगारीका लागि नेपालबाट युवाहरु बिभिन्न देशमा पुगिरहेको र कतिपयको त्यहाँ हत्या हुने गरेको बताउँदै उनले त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए।
आजपा निकटको आईटी आर्मीको आज काठमाडौंमा बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले नेपालमा युवाहरु स्वास्थ्य परिक्षण गरी रोजगारका लागि विदेश गईरहेको तर कतिपयको हत्या हुने गरेको बताए।
‘हामी देखिरहेका छौं, दिनहुँ विदेशबाट युवाहरुको लाश बाकसमा आइरहेको छ। नेपालबाट जानु अघि ति युवाहरुले स्वास्थ्य परीक्षण गरी कुनै रोग नलागेको प्रमाणित भएपछि मात्रै विदेश जान्छ । निरोगिताको प्रमाणित भएपछि विदेश पुगेका युवाहरुको लाश किन आईरहेको छ त्यसको जवाफ यो सरकारले दिनुपर्छ। त्यसको जिम्मेवारी यो सरकारले लिनुपर्छ’ साहले भने, ‘एउटा निरोगी युवाको विदेशमा मृत्यु किन भयो ? त्यसको मृत्यु होईन हत्या भएको हो।’
योग्यता, क्षमता अनुसारको रोजागर र पारिश्रमिक सरकारले उपलब्ध गराउन नसक्दा बाध्य भएर युवाहरु रोजगारको खोजी गर्दै खाडीमुलुक पुगिरहेको साहले बताए । तर यहाँका केही चोर नेताहरुका कारण वैदेशिक रोजगारीमै ठगी भईरहेको छ । नेताहरुकै संलग्नतामा वैदेशिक रोजगारीमा ठगी धन्दा चलिरहेको बताउँदै उनले त्यसको पर्दाफास आईटी आर्मीले गर्नुपर्ने दिर्नेशन दिए ।
‘वैदेशिक रोजगारीको ठगी धन्दामा केही चोर नेताहरुको संलग्नता छ। देश र जनताका लागि राजनीतिक गरिरहेको नाटक गरिरहेका र राज्यसत्ताको दुरुपयोग गर्दै ति चोर नेताहरु मोटाउने र सोझासाझा, निमुखा, गरिब मजदुर र युवाहरु मर्ने दिनको अन्त्य हुनुपर्छ। आईटी आर्मीले त्यस्ता चोर, फटाहा, राज्यसत्ताको दुरुपयोग गर्नेलाई जहाँको त्यही जनकारवाही गर्नुपर्छ’ अध्यक्ष साहले भने।
नेपालमा भ्रष्टाचार, अनियमितता र लुटेर राखिएको कालोधनलाई रेमिटेन्ससंग साटेर विदेश लाने काम भइरहेको बताउँदै उनले यसबाट राज्यलाई अर्बौ रकमको नोक्सानी भइरहेको छ। तर पनि सरकार यस्तो कालोधनलाई रेमिटेन्ससंग साटेर विदेश पठाउने हुन्डीकारोवारीलाई कारवाही गर्न सकिरहेको छैन् । हुन्डीकारोबारबाट नेपालमा रहेको कालोधनलाई रेमिटेन्ससंग साटेर विदेश गईरहेको आजपा अध्यक्ष साहले बताएका छन्।
नेपालमा भ्रष्टाचार गरी, अनियमितता गरेर, लुटेर राखिएको कालोधन रेमिटेन्ससंग साटेर विदेश गईरहेको छ। हुन्डीकारोवारी मार्फत यस्तो काम भइरहेको सूचना सरकारमा बसेकासँग पनि छ। तर ति हुन्डी कारोबारीलाई किन कारवाही हुन सक्दैन्, म सरकारसँग सोध्न चाहन्छु’ आजपा अध्यक्ष साहले भने, ‘रेमिटेन्स रकमलाई भ्रष्ट नेताहरुले आफ्नो कालोधन साट्ने अस्त्र बनाएका छन्। त्यही भएर यहाँ हुन्डीकारोबार फटाएको छ, भ्रष्टहरु मोटाउँदै छन्। त्यस्ता देशद्रोहीलाई अब आईटी आर्मीले ठाउँका ठाउँ जनकारवाही गर्नतर्फ लाग्नुपर्छ।’
आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहको अध्यक्षतामा बसेको बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष एवं संविधान सभा सदस्य तिलक थापामगर, उपाध्यक्ष ज्ञानेन्द्र तामाङ लगायतको सहभागिता रहेको आईटी आर्मीकी उपाध्यक्ष सुमन यादवले जनाएकी छन्। आईटी आर्मीले बिभिन्न माग गर्दै आउँदो २ असारदेखी काठमाडौं स्थित वैदेशिक रोजगार विभाग घेराउ तथा धर्ना दिदैछ । त्यसैको तयारी स्वरुपमा आईटी आर्मीको बैठक काठमाडौंमा बोलाइएको हो।