उपेन्द्र भन्छन्-मधेशमा लोसपा र जनमतसहितका पार्टीसँग सहकार्यका लागि खुल्ला छौं

उपेन्द्र भन्छन्-मधेशमा लोसपा र जनमतसहितका पार्टीसँग सहकार्यका लागि खुल्ला छौं

जनकपुरधाम। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशका लागि आफूहरु लोसपा र जनमत सहितका पार्टीहरुसँग सहकार्यका लागि खुल्ला रहेको बताएका छन्।

पार्टीमा भएको फुट र संघीय तथा मधेश प्रदेशको सरकारबाट बाहिरिएकै बेला जेष्ठ २८ गतेदेखि हुन लागेको पार्टीको पहिलो महाधिवेशन सन्दर्भमा जनकपुरधाममा प्रेस मञ्च नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा यादवले जसपा एक्लै पनि संर्घष गर्न सक्ने हुँदाहुँदै मधेशको सवालमा संघीयता र गणतन्त्र पक्षधरसँग सहकार्य गर्न तयार रहेको बताए।

महाधिवेशनले कस्तो नीति लिन्छ? फेरि पनि त्यै एमाले र माओवादीसंग जाने कि जनमत र लोसपासँग पनि जान सकिन्छ ? भन्ने प्रश्नमा उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री भारत जान लागेको बेलामा भारतसहितका राजदूतहरु फिर्ता बोलाएर सरकारले गलत हर्कत गरेको उनको टिप्पणी थियो।

मधेशका लागि न्युन बजेट छुुट्याइएर वर्तमान सरकार मधेशको शत्रु जस्तै स्पष्ट भएको उनको धारणा थियो। जसपाको फुट र मधेश केन्द्रित दलसँग मुख्य दल भनिएकाहरुले गरिरहेको व्यवहार र प्रयोगले मधेशमाथि निरन्तर दमन प्रमाणीत गरेको उनले आरोप लगाए।

पुर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री समेत रहेका यादवले जेष्ठ २८ गते हुने पार्टी महाधिवेशनको खुल्ला सत्रमा भारतको समाजवादी पार्टी, कांग्रेस आइका साथै विभिन्न दलका प्रतिनिधिका साथ साथै मलेसिया, स्पेन सहितका दर्जनौ देशहरुबाट समाजवादी र लोकतान्त्रिक पार्टीका नेताहरु सहभागि हुन आइरहेको जानकारी गराए।