मधेशका मुख्‍यमन्त्री सिंहले लिए पद तथा गोपनीयताको शपथ

मधेशका मुख्‍यमन्त्री सिंहले लिए पद तथा गोपनीयताको शपथ

जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पद तथा गोपनीयताको शपथ लिएका छन्। जनमत पार्टीका सांसद सिंह आज बिहान मात्रै मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त भएका सिंहलाई शुक्रबार मध्याह्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शपथ दिलाएकी हुन्। मुख्यमन्त्री सिंहले मैथिली भाषामा शपथ लिएका हुन्।

६ दलका ५५ सांसदको समर्थनसहितको दाबी पेस गरेपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। भागबण्डाअनुसार एमालेले  भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण, माओवादी केन्द्रलाई अर्थ र पर्यटन,  नेकपा एसले कृषि, ऊर्जा तथा सिँचाइ मन्त्रालय पाउने नेताहरूले बताएका छन्।

यस्तै १–१ सिटको नेपाल संघीय समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उन्मुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको बताइएको छ।