काठमाडौं । वर्षायाम सुरु हुन लागेसँगै मेलम्ची खानेपानी आयोजना बन्द गर्ने तयारी गरिएको छ। मेलम्ची खानेपानी विकास समितिले यही जेठ ३१ गतेदेखि बन्द गरिने जानकारी दिएको छ।
तर, मनसुन सुरु नभएमा पानी बन्द नगरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक निर्देशक रत्न लामिछानेले जानकारी दिए। उनले भने, ‘यही जेठ ३१ गतेबाट सुरूङमा पानी पठाउन बन्द गर्ने मन्त्रालयमा छलफल भएको छ,तर मनसुन सुरु नभई पानी परेन भने चाहिँ केही समय ठूलो पानी नपर्दासम्म पानी बन्द हुँदैन।’
राज्यले दीर्घकालीन पानीको व्यवस्थापन गर्न नसक्दा अस्थायी रूपमा पानी ल्याउने र वर्षात सिजन सुरु भएपछि बन्द गर्नुपर्ने परिस्थिति छ। जल तथा मौसम विज्ञान विभागले वर्षाको मनसुन यही जुन १३ अर्थात् जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आँकलन गरेको छ।
यद्यपि, मनसुन भित्रिने सरदर मितिभन्दा केही दिन तलमाथि पर्नेछ। महाशाखाका मौसमविद् रोजन लामिछानेले मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको छ।
त्यसैले आयोजनामा क्षति नपुगोस् भनेर बन्द गर्न लागिएको हो। सन् २००१ मा सुरु भएको आयोजना दुई दशकपछि अर्थात् पहिलोपटक २०७८ चैत १५ गते काठमाडौं उपत्यकामा पानी वितरण थालिएको थियो।
तर, २०७८ साल असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुर्यायो। क्षति भएको ९ महिनापछि अर्थात् २०७९ वैशाख ११ गते अस्थायी रूपमा फेरि पानी काठमाडौं ल्याइयो।
सरकारले पहिला जस्तो बाढीबाट क्षति हुन नदिन भन्दै २०७९ जेठ १७ गते मेलम्चीको पानी ल्याउन बन्द गरेको थियो। बर्खा सकिएपछि पनि समयमा पानी आउन सकेन। बन्द गरेको ६ महिनापछि मात्र मेलम्चीको पानी काठमाडौं आयो। क्षति मर्मतपछि गत मंसिर २३ गतेदेखि पानी वितरण भएको थियो।
फेरि मेलम्ची खानेपानी विकास समितिले गत बर्खामा पनि मेलम्चीको पानी ल्याउन संरचना मर्मत गर्ने भन्दै गत जेठ ५ गतेदेखि १५ गतेसम्म अर्थात् १० दिन पानी पठाउन बन्द गर्यो। उक्त संरचना मर्मतपछि उपत्यकामा पानी आयो। विकास समितिले बर्खामा पनि पानी आउने जनाएको थियो तर क्षति हुन नदिन भन्दै पुनः बन्द गरियो।
तर,यो सुझाव एक वर्ष पुग्न लाग्दा पनि सरकारले केही निर्णय गर्न सकेको छैन। मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले दीर्घकालीन रूपमा काठमाडौंमा पानी ल्याउनुपर्ने हो उक्त सुझावअनुसार हेडवर्क्स सार्नु नै पर्ने बताउँदै आएका छन्