एमाले अध्यक्षविरुद्ध खनियो रास्वपा

एमाले अध्यक्षविरुद्ध  खनियो रास्वपा

काठमाडौं। केही दिनअघि एक बन्द कोठामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको विषयलाई लिएर सत्तारूढ दलका दुई मुख्य घटक नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच मनमुटाव उत्पन्न भएको छ।

रास्वपाकी नेतृ एवं शिक्षामन्त्री सुमना श्रेष्ठ लक्षित सत्तारूढ दलको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष ओलीको अभिव्यक्तिप्रति रास्वपाले संसदमै प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा रास्वपाका सांसद शिशिर खनालले शिक्षामन्त्री सुमना श्रेष्ठलाई लक्षित गरी अध्यक्ष ओलीले दिएको अभिव्यक्तिमाथि प्रश्न उठाएका हुन्।

केही दिनअघि ओलीले विदेशीसँग विवाह गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको भन्दै सुमनामाथि टिप्पणी गरेका थिए। ओलीको उक्त टिप्पणीलाई लक्षित गर्दै खनालले लामो समयदेखि नेपालको राजनीतिमा महिलाको उन्मुक्ति र वर्गीय उन्मुक्ति हामीले केका लागि गरेको भनेर प्रश्न गरेका छन्।

सांसद खनालले भने, ‘कुनै एउटा यस्तो युग थियो जहाँ, काठमाडौंकी राजकुमारी (भृकुटी) तिब्बतका राजासँग विवाह गरिन्। जनकपुरकी राजकुमारी (सीता) अयोध्याका राजासँग विवाह गरे र दुवै पूज्य भए। आज यस्तो जमाना आयो, विदेशमा उच्च शिक्षा हासिल गरेकी एउटा महिला नेतृ दस वर्षअघि देश फर्किइन्। राजनीतिमा आइन् र मन्त्री बनिन्। उनलाई भर्खर घुम्दाघुम्दै आएर मन्त्री बनिन् भनिन्छ।’

रास्वपाका नेताहरूका अनुसार पार्टीभित्र आन्तरिक छलफल गरेर नै पूर्वशिक्षा मन्त्रीसमेत रहेका रास्वपाका सांसद खनालले सुमनाप्रति लक्षित गरेर भएका टिप्पणीप्रति आपत्ति जनाएका हुन्। सांसद खनालले भने, ‘कहिले लुगामा टिप्पणी गरिन्छ। कहिले समानुपातिक सांसद भनेर होच्याउने गरिन्छ। यही सभा हलभित्र, कहिले बन्द कोठाभित्र।’

नेकपा एमालेका अध्यक्ष ओलीले केही दिनअघि गृहजिल्ला झापामा विद्यालय व्यवस्थापन समिति महासंघका प्रतिनिधिसँगको भेटमा सुमना श्रेष्ठको नाम नलिईकन टिप्पणी गरेको भिडियो सामाजिक सञ्जालमा आएको थियो। जहाँ ओलीले भनेका थिए, ‘विदेशको को केटासँग बिहे गर्‍या छ रे, नेपाल घुम्न आएकी, मन्त्री पो भइन्।’

यसैबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले महिलालाई हेर्ने मानसिकता विकराल रहेको टिप्पणी गरेकी छन्।

आफूलक्षित एमाले अध्यक्ष ओलीको टिप्पणीप्रति बुधबार आफ्नो सचिवालयको फेसबुकमार्फत प्रतिक्रिया दिँदै सुमनाले लेखेकी छन्, ‘अहिलेसम्म पुस्तौँदेखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो, यही कारणले मात्र उत्पात विकास हुने रहेछ त ? हामीले लडेर ल्याइदिएको अधिकारको मज्जा लिइरहेको छाैं भनेर नथाक्नेहरू नै त्यसको उपयोग गर्दा भने भड्किन पुग्छन्। देश कुनै अमूक नेताहरूको कैदमा मात्रै छ र उनीहरूको मर्जीबिना देशमा पात पनि हल्लिँदैन भन्ने धारणा फेरिन सक्छ। साँच्चै नै ब्रेन गेन हुन पुग्छ।’