सहकारी ठगी प्रकरणः समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयार गर्ने जिम्मा सचिवालयलाई

सहकारी ठगी प्रकरणः समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयार गर्ने जिम्मा सचिवालयलाई

काठमाडौं। सहकारी ठगी प्रकरण छानविन गर्न बनेको संसदीय छानविन विशेष समितिको पहिलो बैठकले आन्तरिक कार्यविधि मस्यौदा गर्न संसद सचिवालयलाई जिम्मा दिएको छ ।

आज (बुधबार) बसेको बैठकले समितिको काम अगाडि बढाउनका लागि आन्तरिक कार्यविधिको मस्यौदा तयार गर्न सचिवाललाई जिम्मा दिएको हो । समितिका संयोजक सूर्यबहादुर थापाक्षेत्रीले कार्यविधि मस्यौदा तयार भइसकेपछि त्यसलाई छलफलबाट टुङ्ग्याउन अर्को बैठक बस्ने गरी आज बैठक टुङ्गिएको बताए । उनका अनुसार संसद सचिवालयलाई दुई दिनको समयभित्र मस्यौदा तयार पार्न भनिएको छ ।

‘सहकारी संस्थाको बचत रकम दुरुयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिको पहिलो बैठक आज भएको छ । सभामुख देवराज घिमिरेज्यूको उपस्थितिमा बैठक शुभारम्भ भएको छ । समितिका सातै जना माननीय सदस्यज्यूहरुसहित हामीले बैठकमा समितिको कामलाई अघि बढाउने सन्दर्भमा छलफल गरेका छौं । आज हामीले सामान्य केही निर्णयमात्रै गरेका छौं । कार्यविधि बनाउन पर्नेछ । समितिको आन्तरिक कार्यविधि मस्यौदा गर्न हामीले सचिवाललाई निर्देशन दिएका छौं,’  उनले भने ।

आफूहरुलाई दिइएको चार बुँदे कार्यादेश (टीओआर) का आधारमा आगामी छलफल अगाडि बढ्ने उनको भनाइ छ । उनले आजदेखि समितिको तीन महिने अवधि काउन्ट डाउन हुने बताए ।