मधेसका मुख्यमन्त्री आज राति १२ बजेपछि पदमुक्त हुने, भोलि नयाँ सरकारको आह्वान

मधेसका मुख्यमन्त्री आज राति १२ बजेपछि पदमुक्त हुने, भोलि नयाँ सरकारको आह्वान

जनकपुरधाम । विश्वासको मत सार्ने प्रस्ताव गरेका मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव आजै राति १२ बजेपछि पदमुक्त हुने भएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएका कारण मुख्यमन्त्री यादव आज विश्वासको मत लिने तयारी गरेका थिए ।

प्रदेशसभा सचिवालयले पनि मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको भन्दै आज दिउँसो ३ बजेका लागि बैठक डाकेको थियो । मुख्यमन्त्री यादवले भने अन्तिम समयमा आफू बिरामी परेको भन्दै विश्वासको मत लिने सम्बन्धी कार्यसूची सार्न सभामुखलाई आग्रह गर्दै पत्र पठाए ।

अहिले त्यो विषयमा निर्णय लिन सभामुख रामचन्द्र मण्डल कानूनी परामर्शमा व्यस्त छन् । प्रदेशसभा बैठक बस्नेरनबस्ने पनि अन्योल छ । मुख्यमन्त्री यादवले अब जेष्ठ २८ मा विश्वासको मत लिने बताएका छन् । तर त्यसअघि नै उनी पदमुक्त हुने भएका छन् ।

मुख्यमन्त्रीले एमाले र माओवादी सरकारबाट समर्थन फिर्ता लिएकाले संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिने सोचे । तर आफ्नै दल जसपा नेपाल विभाजन भएकाले पनि विश्वासको मत लिनुपर्ने कुरा बिर्सिए । सोही कारण उनको पद धरापमा परेको छ ।

वैशाख २२ मा जसपा नेपाल विभाजन भएको थियो । दल विभाजन भए पनि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । यो व्यवस्था अनुसार मुख्यमन्त्रीले आजै विश्वासको मत लिनुपर्ने थियो ।

प्रदेशका प्रतिपक्षी तथा सत्ता गठबन्धनमा रहेका दलहरू पनि मुख्यमन्त्री स्वतः पदमुक्त भइसकेकाले नयाँ सरकारको आह्वान गर्न प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई ध्यानाकर्षण गराएका छन् ।

प्रदेश प्रमुख भण्डारीले आज राति १२ बजेसम्म मुख्यमन्त्रीले विश्वासको मत लिएको औपचारिक जानकारी प्राप्त नभए भोली नयाँ सरकार गठनको प्रक्रिया अगाडी बढाउने तयारी गरेको बुझिएको छ ।