भारत। भारतमा लोकसभा निर्वाचनको परिणामअनुसार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) एकल बहुमत ल्याउन असफल भएको छ । यसले गर्दा तेस्रो कार्यकाल प्रधानमन्त्री बन्नका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई अन्य दलको समेत समर्थन जरुरी देखिएको छ ।
अब उनले नीतीश कुमार र चन्द्रबाबु नायडूको समर्थनमा मात्र सरकार बनाउन सक्ने अवस्था उत्पन्न भएको छ । प्रधानमन्त्री मोदीले चुनावी प्रचारका क्रममा भाजपा एक्लैले ४०० भन्दा बढी सिट ल्याउने दाबी गरे पनि अहिले मतपरिणाममा २४० सिट मात्र भाजपाले सुरक्षित गर्न सकेको छ । २४० सिट कम नभए पनि पहिला दोब्बरको आशा देखाइएकोले यसको तुलनामा यो सिट निकै कम हो ।
सरकार बनाउनको लागि २७२ सिट चाहिन्छ । यद्यपि, भाजपा गठबन्धनको पक्षमा २९२ सिट आएको छ । विपक्षी इन्डिया गठबन्धनलाई २३४ सिट प्राप्त भएको छ । इन्डिया गठबन्धनका सुत्रधार जेडीयू अध्यक्ष तथा बिहारका मुख्यमन्त्री नीतीशकुमार गएको जनवरीदेखि भाजपा समर्थित गठबन्धनमा आएका हुन् । बिहारमा एनडीएसँग मिलेर सरकार बनाउने भनेपछि लोकसभा निर्वाचनमा पनि सोही गठबन्धनबाट चुनाव लडेका हुन् । जेडीयूले आफ्नो अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेर बिहारमा १२ सिट जितेको छ । भाजपालाई पनि १२ सिट नै मिलेको छ ।
आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडूको तेलगू देशम पार्टीले १६ सिट पाएको छ, जसले मोदीविरुद्ध विगतमा मोर्चा खडा गरेको थियो । अहिले भने एनडीए गठबन्धनमा उनी महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अवस्थामा पुगेका छन् । सत्ता समीकरणमा अब चन्द्रबाबु नायडू र नीतीश कुमारले किंगमेकरको भूमिका निर्वाह गर्नेछन् ।
भारतका वरिष्ठ पत्रकार संजीव श्रीवास्तव भन्छन्, “यो सरकार नीतीशकुमार र चन्द्रबाबुु नायडूको बैशाखीबिना अब चल्न सक्दैन । नीतीश कुमार मौसम जस्तै बदलिइरन्छन् ।’