काठमाडौं । भारतको लोकसभा निर्वाचन २०२४ को प्रारम्भिक नतिजाले भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)ले बहुमत नपाउने देखाएको छ ।
अहिलेसम्मको मतगणनाअनुसार ५४३ सदस्यको लागि भएको लोकसभा निर्वाचनमा भाजपाका लगभग २४० उमेदवारले जित्ने देखिएको छ । सरकार बनाउन कम्तीमा पनि २७२ सदस्य आवश्यक पर्छ । भाजपालाई अब सरकार बनाउन जनता दल (युनाइटेड) जेडी (यू) र तेलुगु देसम (टीडीपी) आवश्यक पर्छ । टीडीपीले १६ र जेडी (यू)ले १४ स्थानमा अग्रता लिइरहेको छ ।
भारतमा अप्रिल १९ देखि जुन १ सम्म विभिन्न चरणमा निर्वाचन भएको थियो । निर्वाचनमा करोडौँ भारतीय जनताले मतदान गरेका थिए । निर्वाचनको प्रारम्भिक नतिजाले हालसम्म केन्द्रमा सरकार बनाउन भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) र विपक्षी भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको इन्डियन नेसनल डेभलपमेन्ट इन्क्लुसिभ अलायन्स (आईएनडीआईए) बीच प्रतिस्पर्धा देखिएको छ ।
मतगणना भएका स्थानमध्ये एनडीएका २९६ उमेदवार, इन्डिया गठबन्धनका २२९ उमेदवार र अन्यका १८ उमेदवारले अग्रता बनाएका छन् । हालसम्मको मतपरिणामले एनडीए गठबन्धनमा रहेका दलहरू मिलेर सहजै केन्द्र सरकार बनाउन सक्छन् । तर, आईएनडीआईए अर्थात् इन्डिया गठबन्धनले २२९ स्थानमा अग्रता लिएपछि एनडीएलाई सरकार बनाउन सहज देखिँदैन ।
एनडीए गठबन्धनमा रहेका दललाई तोड्ने प्रयास इन्डिया गठबन्धनले सुरु गरिसकेको छ । इन्डिया गठबन्धनले चन्द्रबाबू नायडू र नीतीश कुमारलाई एनडीए गठबन्धनबाट फुटाउने चलखेल सुरु भएको छ ।
स्रोतका अनुसार तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबू नायडूसँग छलफल गरेका छन् । यसको अलवा महाराष्ट्रका प्रभावशाली नेता शरद पवारले नितीश कुमारसँग कुराकानी गरेका छन् । दुवै नेतालाई इन्डिया गठबन्धनमा आउन अनुरोध गरिएको दाबी स्रोतको छ ।