काठमाडौं। रियल म्याड्रिडले फ्रेन्च फुटबलर किलीयन एम्बाप्पेलाई भित्र्याएको औपचारिक घोषणा गरेको छ। रियल म्याड्रिडले एम्बाप्पेलाई फ्री-ट्रान्सफरमा भित्र्याएको हो।
२५ बर्षीय एम्बाप्पेको पिएसजीमा जुन ३० मा सम्झौता सकिने भएपछि उनी फ्री-ट्रान्सफरका लागि उपलब्ध थिए। रियल म्याड्रिडले यस सिजनको च्याम्पियन्स लिग जितेसँगै एम्बाप्पेसँग सम्झौता गरेको विषय बाहिरिएको थियो।
एम्बाप्पेले रियल म्याड्रिडमा पिएसजीमा भन्दा १० मिलियन युरो कम पारिश्रमिक पाउने सम्झौता गरेका छन्।
पिएसजीमा उनले करिब २५ मिलियन युरो बार्षिक पारिश्रमिक थियो भने रियल म्याड्रिडले १५ मिलियन युरो दिने बताइएको छ। यसपछि पनि एम्बाप्पे रियल म्याड्रिडमा सबैभन्दा बढी पारिश्रमिक भएको खेलाडी बन्ने छन्।
उनले रियल म्याड्रिडमा ९ नम्बरको जर्सी लगाउने बताइएको छ, यद्यपी यस बारे औपचारिक जानकारी दिइएको छैन।
मिडिया रिपोर्टका अनुसार रियल म्याड्रिडले एम्बाप्पेलाई फ्रि-ट्रान्सफरमा साइन गरेपनि उनलाई करिब ११० मिलियन डलर साइनिङ रकम दिने बताइएको छ।
रियल म्याड्रिडले एम्बाप्पेलाई पछिल्लो सात बर्षदेखी भित्र्याउने प्रयासमा रहेको थियो।
२०१७ मा फ्रेन्च क्लब मोनाकोबाट लोंमा पिएसजी आएका एम्बाप्पे २०१८ देखि पिएसजीको खेलाडी बनेका थिए।
अहिलेसम्म पिएसजीका लागि उनले ३०८ खेलमा २५६ गोल गरेका छन्। पिएसजीमा रहँदा उनले ६ सिजन फ्रेन्च लिग जितेका छन् भने चार सिजन फ्रेन्च कोपा डे जितेका छन्। त्यस्तै २०१९-२० सिजनमा पीएसजी च्याम्पियन्स लिगको उपविजेता बनेको थियो।