काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिमण्डल हेरफेरको तयारीमा लागेका छन् । उनले नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउन मन्त्रिमण्डल हेरफेर तयारी गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले केही दिनभित्रै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाउने तयारी गरेको स्रोतको दाबी छ जसका लागि उनले सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग समेत छलफल अघि बढाएका छन्।
प्रचण्डले नागरिक उन्मुक्ति पार्टीलाई समेत सरकारमा सहभागी हुनेगरी तयारी थाल्न भनिसकेका छन्। नागरिक उन्मुक्तिलाई एक मन्त्री र अर्को राज्यमन्त्री दिने प्रधानमन्त्री प्रचण्डको तयारी छ। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रधानमन्त्रीले तयारी गरेको र आफ्नो पार्टीबाट दुई जना मन्त्रिपरिषद्मा सहभागी हुने जानकारी दिइन्।
मन्त्रिपरिषद्मा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय लिएर सरकारमा सहभागी हुने पनि उनले बताइन्। मन्त्रालयको जिम्मेवारी अध्यक्ष श्रेष्ठ आफैँले लिनेछिन्। राज्यमन्त्रीको बारेमा भने पार्टीमा छलफल हुन बाँकी छ। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको नेतृत्वमा अहिले माओवादी केन्द्रका हितबहादुर तामाङ छन्।