गठबन्धन नै छोड्न खोजेका माधवले देलान् सिके राउतलाई साथ ?

गठबन्धन नै छोड्न खोजेका माधवले देलान् सिके राउतलाई साथ ?

काठमाडौं । तीन दलबीच भएको सहमतिअनुसार मधेश प्रदेश सरकारको नेतृत्व पाए डा. सीके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जाने संकेत गरेको छ । पछिल्लो सहमतिअनुसार नेकपा एमाले र माओवादी केन्द्र मधेश प्रदेश सरकारको नेतृत्व जनमतलाई दिन तयार छन् ।

त्यहीअनुसार अहिले मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी भइरहेको छ । यद्यपि, तीन दलमात्रै मिल्दा सरकार गठनको लागि बहुमत भने पुग्दैछ । अध्यक्ष राउतले सार्वजनिक गरेको पछिल्लो सहमति अनुसार नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीको पनि आफूहरूलाई समर्थन रहेको उल्लेख गरेका छन् ।

यद्यपि, यी दुवै पार्टी अहिलेसम्म कुनै औपचारिक निर्णय नगरेर पर्ख र हेरको अवस्थामा छन् । मधेश सरकारमा भएपछि पछिल्लो सहमति अनुसार मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी भइरहेको जनमतका प्रवक्ता डा. शरद यादवले बताए ।

 उपेन्द्र यादव सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर जनमतले सरकारमा जाने बाटो तय गरिसकेको छ । ६ सांसद भएको जनमतले संघमा एउटा मन्त्रालय पाउने निश्चित छ । यसअघि नयाँ समीकरण बन्नुअघि पनि जनमतले एउटा मन्त्रालय लिएर सरकारमा गएको थियो ।