काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल स्वीटजरल्याण्ड र जर्मनी भ्रमणमा जाने भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषदले ३१ जेठदेखि हुने उनको भ्रमण स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
उनका अनुसार ३१ जेठमा राष्ट्रपति पौडेल स्वीटजरल्याण्डको जेनेभा जानेछन्। उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिनेछन्। त्यसपछि राष्ट्रपति पौडेल जर्मनी भ्रमणमा पनि जानेछन्।
नेपाल न्यायसेवा तर्फको राजपत्राङ्कीत बिशिष्ठ श्रेणी पदमा खेमराज ज्ञवाली, याम बहादुर बुढा मगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरि क्रमश नायव महान्याधीवक्ता, न्याय परिषद्को सचिव र सर्वोच्च अदालतको रजिष्टार पदमा पदस्थापन गर्ने निर्णय गरेको उनले जानकारी दिइन्।
मन्त्रिपरिषद् बैठकले वन दोश्रो संशोधन नियमावली २०८१ स्वीकृत गरेको छ भने तिलगंगा आँखा विश्वविद्यालयसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन्।