प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको नेता खनालको सचिवालयले जनाएको छ। 

प्रधानमन्त्री प्रचण्डलाई भेट्न पूर्वप्रधानमन्त्री खनाल आज बिहान नौ बजे बालुवाटार पुगेका थिए। यसअघि बुधबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सांसद मेटमणि चौधरी कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निजी निवास बूढानीलकण्ठ पुगेका थिए । बूढानीलकण्ठमा सभापति देउवा, अध्यक्ष नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबिच भेटवार्ता भएको थियो । 

उक्त भेटवार्तामा जसपाका सरोज यादव नेतृत्वको मधेस प्रदेश सरकार जोगाउने, सुदूरपश्चिम सरकारमा कांग्रेस सहभागी हुने र गण्डकीमा सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई विश्वासको मत पुर्याउनेलगायतका विषयमा छलफल भएको थियो । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको केन्द्र सरकारमा सहभागी एकीकृत समाजवादीभित्र सरकार छाड्ने कि नछाड्ने भन्नेमा मतभेद छ । खासगरी सरकार सञ्चालनका विषयमा प्रचण्ड र एमाले अध्यक्ष ओलीले आफूसँग कुनै छलफल नगर्ने गरेको गुनासो अध्यक्ष नेपालले गर्दै आएका छन् ।