गृहमन्त्री लामिछानेको नाम नतोकी समिति बनाउन कांग्रेस तयार, सहकारीको रकम पुगेको ठाउँसम्म हेर्न सकिने

गृहमन्त्री लामिछानेको नाम नतोकी समिति बनाउन कांग्रेस तयार, सहकारीको रकम पुगेको ठाउँसम्म हेर्न सकिने

काठमाडौं । सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम तोकेर संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको नेपाली कांग्रेस अन्ततः व्यक्ति विशेषको नाम नतोकी संसदीय छानबिन समिति बनाउन सहमत भएको छ।

मंगलबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगी प्रकरणमा व्यक्तिको नाम नतोकी छानबिन समिति गठन गर्ने सोमबार दलहरूबीच भएको सहमति अनुमोदन गरेको हो। बैठकपछि कांग्रेस मुख्य सचेतक रमेश लेखकले भने,सहकारीको रकम जहाँजहाँ गएको छ त्यसलाई कानुनीरुपले हेर्ने,त्यसमा संलग्न व्यक्ति जोसुकै होस् उसका बारेमा छलफल हुने, छानबिन हुने, अनुसन्धान गर्नसक्ने स्थिति बनेको हुनाले कुनै व्यक्ति विशेषको नाम लेखिराख्न आवश्यक छैन भन्ने निष्कर्षमा पुगेका छौं। अन्तिमरुप कार्यदलले दिन्छ।

पार्टी सभापति शेरबहादुर देउवा अस्वस्थ भएपछि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा संसदीय दलको बैठक बसेको थियो। छानबिन समिति गठन गर्ने विषयमा सत्ता पक्ष र प्रतिपक्षी निष्कर्षउन्मु्ख रहेको बताउँदै नेता लेखकले लिपिवद्ध गर्न बाँकी रहेको बताए।

छानबिन समितिको कार्यादेशको अन्तिम टुंगो लागेपछि थप सदस्यहरूको नाम संसदीय सचिवालयलाई पठाउने तयारी भइरहेको उनले बताए।हाल कार्यदलमा कांग्रेसबाट सह-महामन्त्री जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की छन्। नेता लेखकले दिउँसो  ४ बजे बस्ने प्रतिनिधिसभा बैठमा कार्यादेशसहितको सहमति पारित हुनेगरी प्रस्ताव प्रस्तुत हुने दावी गरे।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको नाम तोकेर संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै लामो समयदेखि कांग्रेसले संसदमा अवरोध जनाउँदै आएको थियो। व्यक्तिको नाम नतोकेर छानबिन समिति बनाउन कांग्रेस सहमत भएपछि अब संसदको अवरोध हट्ने भएको हो।