टी–२० विश्वकप : नेपालले आज क्यानडासँग ‘वार्म अफ’ खेल्दै

टी–२० विश्वकप : नेपालले आज क्यानडासँग ‘वार्म अफ’ खेल्दै

काठमाडौं । टी–२० विश्वकप अघि नेपालले आज क्यानडासँग ‘वार्म अफ’ खेल खेल्दैछ। नेपालले पहिलो पटक टी–२० विश्व कप खेल्ने तयारीमा रहेको क्यानाडासँग वार्म अप खेल खेल्दैछ। ग्रान्ड प्रेरी मैदानमा नेपाली समय अनुसार राति ९ः१५ बजे खेल सुरु हुनेछ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली अमेरिका पठाइसकेको छ। नेपाली टोलीले अमेरिकासँग मे ३० मा दोस्रो वार्मअप म्याच खेल्नेछ।  

नेपालले जुन ४ मा टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सको सामना गर्नेछ। समूह डीमा नेपालसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन्। नेपालले दोस्रो खेल श्रीलंकासँग जुन ११, तेस्रो खेल दक्षिण अफ्रिकासँग जुन १४ र चौथो खेल बंगलादेशसंग जुन १६ मा खेल्नेछ।

यसपटकको विश्व कप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन्। तर नेपालस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा अस्वीकार गर्दा उनी अमेरिकामा हुने खेलमा सहभागि हुन नपाउने भएका छन्। अमेरिकाले भिसा नदिएपछि लामिछानेले विश्वकप गुमाउने भन्दै क्यानले प्रधानमन्त्री कार्यालय, गृहमन्त्री र खेलकुदमन्त्रीसँग पहल थालेको छ। खेलकुद मन्त्रालयबाट परराष्ट्रलाई कुटनीतिक नोट पठाउन आग्रह गरिएको छ।

क्रिकेटर लामिछानेले सामाजिक सञ्जालमार्फत् बुधबार आफूले भिसा नपाएको जानकारी दिएका थिए। उनले सन् २०१९ मा जस्तै यसपटक पनि काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको बताए। 

विश्वकप खेल्न नपाएपछि उनले आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। बलात्कार अभियोग लागेका लामिछानेलाई हालै उच्च अदालत पाटनले सफाइ दिएको थियो। काठमाडौं जिल्ला अदालतबाट ८ वर्ष कैद सजाय भएको मुद्दा उल्टाउँदै पाटनले आरोप पुष्टि नहुने भन्दै लामिछानेलाई सफाइ दिएको थियो।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, गुल्सन झा, ललित राजवंशी, प्रतीश जिसी, सन्दीप जोरा, अभिनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन्