कोलकाता नाइट राइडर्सले जित्यो आईपीएलको उपाधि, फाइनल खेलमा हैदरावाद निरीह

कोलकाता नाइट राइडर्सले जित्यो आईपीएलको उपाधि, फाइनल खेलमा हैदरावाद निरीह

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ। आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो।

योसँगै कोलकाताले आईपीएलको उपाधि तेस्रो पटक हात पार्न सफल भएको छ। यसअघि २०१२ र २०१४ मा कोलकाताले उपाधि जितेको थियो।

आइतबारको फाइनल खेलमा कोलकाताले सहज जित हासिल गरेको छ। हैदरावादले दिएको ११४ रनको लक्ष्य कोलकाताले २ विकेट गुमाएर १०।३ ओभरमै पूरा गरेको छ। कोलकाताका वेंकटेश ऐयरले २६ बलमा ४ चौका र ३ छक्का प्रहार गरी ५२ रन बनाएर नट आउट रहे। ओपनर रहमानउल्लाह गुर्बाजले ३२ बलमा ५ चौका र २ छक्का प्रहार गरी ३९ रन बनाएका थिए।

सुनिल नारायण ६ रन बनाएर आउट हुँदा कप्तान श्रेयस ऐयर ६ रन जोड्दै नट आउट रहे। प्रतियोगितामा हैदरावादका कप्तान प्याट कमिन्स र शहबाज अहमदले १-१ विकेट लिएका थिए।

टस जितेर पहिले ब्याटिङ गरेको हैदरावाद १८.३ ओभरमा ११३ रन बनाएर अल आउट भएको थियो। ओपनर अभिषेक शर्मा २ रन र अर्का ओपनर ट्राविस हेड शून्यमा आउट भएका थिए। राहुल त्रिपाठी ९, शहबाज सरिफ ८, अब्दुल शामद ४, जयदेव उनाडकट ४ रन बनाएर आउट भएका थिए।

कप्तान प्याट कमिन्सले १९ बलमा २ चौका र १ छक्का प्रहार गरी २४ रन बनाएका थिए। ऐडेन मक्रमले २० रन बनाएका थिए। हेनरिच क्लासेन १६ रन र नितिश कुमार रेड्डीले १३ रन बनाएका थिए।