गृहमन्त्री लामिछानेलाई  तत्काल पक्राउ गरियोस्ः कांग्रेस

गृहमन्त्री लामिछानेलाई  तत्काल पक्राउ गरियोस्ः  कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ।

मंगलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली काँग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले गृहमन्त्रीको जस्तै अभियोगमा प्रतिनिधिसभा सांसद गीता बस्नेतसँगै उपप्रधानमन्त्री लामिछानेलाई पनि पक्राउ गर्नुपर्ने माग गरेको छ। सरकारले सांसद बस्नेतलाई यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ।

उनले ठगीको अभियोगमा सांसद बस्नेतलाई पक्राउ पुर्जी जारी हुने तर सोही अभियोग लागेका लामिछाने मुलुकको गृहमन्त्री हुने बिडम्बनापूर्ण अवस्था अन्त्य हुनुपर्ने बताए। सहमहामन्त्री पाण्डेले उपप्रधानमन्त्री लामिछानेले देशका विभिन्न ठाउँका सहकारीबाट एवं अर्बभन्दा बढी रकम गोर्खा मिडियाको नाममा लिएर अपचलन गरेको दोहोर्‍याउँदै उनको नाम किटान गरेर संसदीय छानबिन समिति नबनेसम्म आफूहरूले संसद् बैठक चल्न नदिने अडान पनि राखे।

पाण्डेले भने, ‘बचतकर्ताको बचत फिर्ताको सुनिश्चितता नभएसम्म हाम्रो लडाइँले विश्राम पाउनेछैन। स्वर्णलक्ष्मी काठमाडौं, सुप्रिम बुटवल, साहारा चितवन, सूयर्दशन पोखरा, सूर्यदर्शन पोखरा समेतका ४ वटा सहकारीबाट गोर्खा मिडिया नेटवर्कले करिब एक अर्बको ऋण लिएको छ। त्यो वेला त्यसको प्रबन्ध निर्देशक माननीय गृहमन्त्री रवि लामिछाने हुनुहुन्छ। यसको पुष्टि र प्रमाणित हुने अनेक आधार छन्। सहकारी कार्यालयमा त्यसको पुष्टि भएको छ। प्रहरीका विभिन्न कार्यालयमा त्यसको पुष्टि भएको छ। यस्तै खालको अभियोग भोगिरहेकी माननीय गीता बस्नेतमाथि पक्राउ पुर्जी जारी भएको छ। अर्को एकजना गृहमन्त्री हुनुपर्ने यो कस्तो बिडम्बना हो र यो कस्तो न्याय हो ?’

सहमहामन्त्री पाण्डेले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको भन्दै आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भएको खण्डमा नेपाली काँग्रेसले नसहने बताए।