प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे जनमत पार्टीले गर्यो यस्तो निर्णय

प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे जनमत पार्टीले गर्यो यस्तो निर्णय

काठमाडौँ । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ। प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिएको जनमत पार्टीकी प्रमुख सचेतक अनितादेवी साहले जानकारी दिइन्। 

‘हाम्रो पार्टीको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ’, साहले भनिन्, ‘आज हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ।’ जनमत पार्टीका ६ जना सा‌ंसद छन्। प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्। 

नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।  प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।