कांग्रेस संसद्लाई मुठभेडमा लैजान चाहन्छः एमाले

कांग्रेस संसद्लाई मुठभेडमा लैजान चाहन्छः एमाले

काठमाडौं । सत्तारूढ प्रमुख घटक नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसले संसद् बैठकलाई मुठभेडमा लैजान चाहेको आरोप लगाएका छन् ।

गएको बिहीबार संसद् बैठक अवरुद्ध गर्ने क्रममा कांग्रेसका उपसभापति धनराज गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दुर्व्यवहारको प्रयास गरेको उनले उल्लेख गरे । कांग्रेस संसद्‌मा उदण्ड, अभद्र, अशिष्ट र अमर्यादित ढंगले प्रस्तुत भएर मुठभेडमा लैजान चाहेको उनले जिकिर गरे ।

शनिबार काठमाडौंमा आयोजित युवा विषयक विचार गोष्ठीमा उनले पार्टी अध्यक्ष ओलीमाथि कांग्रेसका उपसभापति गुरुङले संसद्‌मा उदण्ड व्यवहार प्रदर्शन गरेर संसदीय मूल्य–मान्यताको नै खिल्ली उडाएको बताए । संसद्‌मा कांग्रेसले सत्तापक्षको आसनमा आएर गरेको दुर्व्यवहारको जति निन्दा गरे पनि कम हुने उनको भनाइ छ ।

“नेपाली कांग्रेसले संसद्‌मा गरिरहेको हर्कत हेर्नुहोस् । संसद्‌मा सत्तापक्ष कहाँ बस्ने, प्रतिपक्ष कहाँ बस्ने, सरकार कहाँ बस्ने, त्यहाँ डिफाइन गरेको हुन्छ । आसन निर्धारण गरिएको हुन्छ,” उनले भने, “तर, प्रमुख प्रतिपक्षका साथीहरूले वेल घेराउ गर्न जानुभएको छ, आपत्ति छैन । नारा लगाउनुभएको छ । हामीलाई आपत्ति छैन । यसमा गुनासो छैन । तर, सरकारको आसनमा आएर, उपसभामुखको आसनमा आएर जुन प्रकारको अभद्र, अशिष्ट, अमर्यादित र उदण्ड प्रस्तुतिहरू उहाँहरूबाट भइरहेको छ, यसले संसदीय इतिहासमा, संसदीय राजनीतिको इतिहासमा, संसदीय परम्परामा यो एउटा कालो दिनको रूपमा अस्तिको घटना रह्यो ।”

प्रमुख सचेतक बर्तौलाले सहकारीको बचत अपचलन प्रकरण फौजदारी अभियोग भएकाले त्यसलाई संसद्ले नभई सरकारी निकायले अनुसन्धान गर्नुपर्ने तर्क गरे ।