काठमाडौं । प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच धकेलाधकेल भएको छ । सभामुखबाट बैठकको कामकारबाही सुरु भएको घोषणा हुनासाथ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस वेल घेराउ गरेर नाराबाजी गरेको थियो ।
तर, सभामुखले बैठकलाई रोकेनन् । राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउ थाले । प्रतिपक्षको विरोधलाई राप्रपासहितका दलले पनि साथ दिए । चर्को नाराबाजीका बीच सभामुखले गृहमन्त्री रवि लामिछानेलाई बोल्नका लागि समय उपलब्ध गराए । अवस्था थप चर्कियो । कांग्रेस सांसदहरू थप आक्रामक बने । उनीहरूले वेल घेराउ गरेकाले गृहमन्त्री अगाडि जान पाएनन् ।
लगत्तै एमालेसहितका सत्तापक्षका सांसदहरू पनि उठेर प्रतिवादमा उत्रिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि उठेरै प्रतिवाद गरेपछि कांग्रेस सांसदहरू थप आक्रोशित बने । उता एमालेका सांसदहरू पनि प्रतिवादमा उत्रिए ।मुठभेडको अवस्था सिर्जना भएपछि सभामुखले संसद् बैठक स्थगित गरेका थिए ।
यस प्रकरणपछि कांग्रेसका महामन्त्री गगन थापाले आफूहरू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यकर्ता नभएको बताएका छन् । आज संसद्को ल्होत्से हलमा पत्रकार सम्मेलन गरी आफूहरूलाई नअह्राउन चेतावनी दिए ।
यता नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय अराजकता मच्चाएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा भएको तनावका बारेमा बोल्दै उनले कांग्रेसले अलोकतान्त्रिक र अधिनायकवादी चरित्र प्रदर्शन गरेको बताएका हुन् ।
यस प्रकरणपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब संसदीय छानविन समिति नबन्ने घोषणा गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानविनको माग गर्दै संसदीय समितिको माग राख्दै कांग्रेसर्मा धकेलाधकेलको स्थिती बनाएपछि समिति नबन्ने घोषणा गरेको हो ।