काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट प्रतियोगितामा लिग चरणको सबै खेल जितेको छ ।
लिग चरणको आफ्नो चौथो तथा अन्तिम खेलमा आज एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले हरायो । सुदूरपश्चिमले दिएको १ सय १२ रनको लक्ष्य एपीएफले २ बल बाँकी छँदा ७ विकेट गुमाएर भेटायो । एपीएफकी ममता चौधरीले नट आउट ३२ रन बनाइन् । सुदूरपश्चिमकी लक्ष्मी साउदले २ विकेट लिइन् ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ५ विकेट गुमाएर १ सय ११ रन बनायो । सुदूरपश्चिमकी कप्तान विन्दु रावलले ३६ रन बनाइन् । एपीएफकी रेखा रावल र इन्दु बर्माले समान १ विकेट लिइन् ।
एपीएफ लगातार तीन खेल जित्दै यसअघि नै प्रतियोगिताको फाइनलमा पुगिसकेको छ । एपीएफ ८ अङ्कसहित शीर्ष स्थानमा यथावत् छ । सुदूरपश्चिम ३ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ ।
प्रतियोगितामा अहिले कीर्तिपुरमा ललितपुर मेयर्स–एघार र कोशी प्रदेश खेलिरहेका छन् । पाँच टोली सहभागी प्रतियोगिताको फाइनल खेल आउँदो शनिवार हुनेछ । लिग चरणका शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।