नीति तथा कार्यक्रम पेस हुन दिनुस्, सहकारी ठगी प्रकरणको समस्या समाधान गर्छुः प्रधानमन्त्री  प्रचण्ड

नीति तथा कार्यक्रम पेस हुन दिनुस्, सहकारी ठगी प्रकरणको समस्या समाधान गर्छुः प्रधानमन्त्री  प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट संसदमा प्रस्तुत हुने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा अवरोध नगरिदिन नेपाली कांग्रेसका नेताहरुसँग आग्रह गरेका छन् ।

आज बिहान बालुवाटारमा कांग्रेस नेता रमेश लेखक र गगन थापासँग भएको छलफलमा प्रधानमन्त्रीले सो आग्रह गरेका हुन् । बैठक पछि कांग्रेस मुख्य सचेतक लेखकले प्रधानमन्त्रीले समस्या समाधानका लागि प्रयासरत रहेको बताएको जानकारी दिए । लेखकले समस्या समाधानका लागि कोसिस गरिरहेकाले राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रममा अवरोध नगरिदिन प्रधानमन्त्रीले आग्रह गरेको बताए ।

प्रधानमन्त्री दाहालले कांग्रेसले उठाइरहेको माग सम्बोधनको विषय रहेकाले समस्याको समाधान गर्ने प्रतिबद्धता जाहेर गरेको उनको भनाइ छ । उनले भने, ‘प्रधानमन्त्रीले पहिलो कुरा राष्ट्रपतिको सम्बोधनलाई अवरोध नगरिदिन आग्रह गरे भने अर्को कुरा सहकारी प्रकरणको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । हामी यो व्यवहारमा देख्न चाहान्छौं ।’

प्रधानमन्त्रीले सहकारी ठगी प्रकरणमा समस्या समाधानको लागि पहल गरिरहेको आश्वासन दिएपछि कांग्रेस केही लचिलो देखिएको छ । लेखकले संसद अवरुद्ध खुलाउने विषयमा संसदीय दलको बैठकपछि निस्कर्षमा पुग्ने बताए । कांग्रेस संसदीय दलको बैठक केहीबेरमा बस्दैछ ।