उपेन्द्र सरकारबाट बाहिरिएलगत्तै माधवको प्रतिक्रिया– सत्ता गठबन्धन फेरिन सक्छ

उपेन्द्र सरकारबाट बाहिरिएलगत्तै माधवको प्रतिक्रिया– सत्ता गठबन्धन फेरिन सक्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सत्ता गठबन्धन फेरिन सक्ने बताएका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारबाट बाहिरिए लगत्तै माधव नेपालबाट यस्तो प्रतिक्रिया आएको हो । 

त्यसो त पार्टीको पोलिटब्यूरो बैठकमा  पेस भएको राजनीतिक प्रतिवेदनमा समेत अध्यक्ष नेपालले संसदभित्रका विभिन्न राजनीतिक दलहरू सम्मिलित समीकरणमा रहनु मोर्चा नभएको स्पष्ट पार्दै यसलाई तत्कालिक राजनीतिक सहकार्य मात्रै भएको तर्क गरेका छन् ।

तत्काल कम्युनिस्ट पार्टीहरूबीच एकता वा वाम एकता सम्भव नभएको निष्कर्ष निकालेका अध्यक्ष नेपालले अहिले एमाले र माओवादीसँगको सत्ता सहकार्य पनि फेरिन सक्ने निष्कर्ष निकालेका छन् ।

‘यो समीकरण वर्तमान संसदको संरचना अनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको हो । यो दीर्घकालीन होइन तत्कालिक राजनीतिक सहकार्य मात्र हो । त्यसैले तात्कालिक राजनीतिक परिस्थिति बदलियो भने यस्तो तात्कालिक राजनीतिक समीकरण वा सहकार्य पनि बदलिन सक्छ’, प्रतिवेदनमा उल्लेख गरिएको छ ।