काठमाडौँ । नेकपा माओवादी केन्द्र मधेस सरकारबाट बाहिरिएको छ । मधेस सरकारमा रहेका माओवादी नेताहरूले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाएका हुन् ।
मन्त्रीहरू भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री यादवलाई भेटेर राजीनामा दिएको माओवादी मधेस संसदीय दलको भनाइ छ ।
साहलाई वन तथा वातावरण मन्त्री थिए भने भट्टराई उद्योग तथा पर्यटन मन्त्री थिए । तर साहले मन्त्रालयमा चित्त बुझाएका थिएनन् । उनले आफूलाई न्याय नगरेको बताइरहेका थिए ।
मधेसबाट माओवादी बाहिरिएपछि केन्द्र गठबन्धनबाट जसपा नेपाल बाहिरिने तयारीमा छन् । प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्र परामर्श थालेका छन् ।
अध्यक्ष यादवले आज माओवादीका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई छुट्टाछुट्टै भेटेका थिए। सरकारको विषयमा त्यहाँ कुरा नमिलेपछि उनी सरकारबाट बाहिरिने तयारीमा जुटेका हुन् ।