फुटको चर्चाकाबीच एकीकृत समाजवादीका सम्मानित नेता खनाललाई भेट्न डल्लु पुगे वर्षमान

फुटको चर्चाकाबीच एकीकृत समाजवादीका सम्मानित नेता खनाललाई भेट्न डल्लु पुगे वर्षमान

कठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई भेटेका छन्। अर्थमन्त्रीसमेत रहेका पुनले आज बिहान झलनाथलाई भेट्न डल्लुस्थित उनको निजी निवासमा पुगेको उनी निकट स्रोतले जनाएको छ।

स्रोतका अनुसार एकीकृत समाजवादी फुटको हल्लाबीच पुन र झलनाथबीच समयसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको थियो। वर्षमान पुनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विश्वासपात्र मानिन्छ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) नेपाल विभाजन भएपछि नेपाली राजनीतिमा फुटको एक खालको तरंग देखिएको छ। समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका केही नेता वर्तमान सत्तागठबन्धनसँग रुष्ट भइ कांग्रेससँग गठबन्धन गर्ने प्रयासमा छन् भने झलनाथलगायतका नेताहरू वर्तमान समीकरणको पक्षमा छन्। यही विषयमा आजको भेटमा छलफल भएको आंकलन छ।

यता, माधव नेपालले भने १ बजेका लागि संसदीय दलको बैठक आह्वान गरेका छन्।