वेस्ट इन्डिज ए ले नेपाललाई दियो १७३ रनको लक्ष्य

वेस्ट इन्डिज ए ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं । घरेलु टिमसँगको पाँचौं ट्वान्टी–२० खेलमा नेपाललाई वेस्ट इन्डिज ‘ए’ले १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रनको योगफल खडा गरेको हो ।

वेस्ट इन्डिजका एलिक एथानाजेले सर्वाधिक ४२ रन बनाए । उनले २९ बलमा एक चौका र तीन छक्का प्रहार गरे । कप्तान रोस्टन चेजले २३ बलमा पाँच चौकासहित ३३ रन बनाए । जोन्सन चार्ल्सले २४ र म्याथ्यु फोर्डेले २३ रन बनाउँदा मार्क डेयल र कदिम अलेयनेले समान ११ रन थपे ।

नेपालका सोमपाल कामी र सागर ढकालले समान तीन विकेट लिए । किफायती बनेका सोमपालले चार ओभरमा १६ रनमात्र खर्चिए । यसबाहेक, अभिनाश बोहराले एक विकेट लिए ।

यसअघि शृंखलाका चार खेलमध्ये तीन खेलमा जित निकाल्दै वेस्ट इन्डिज प्रतियोगिताको च्याम्पियन बनिसकेको छ । पहिलो खेलमा नेपालल चार विकेटले विजयी भए पनि त्यसपछि वेस्ट इन्डिजले १० रन, ७६ रन र २८ रनको जित निकालेको थियो ।