सुहाङको विजय सभालाई सम्बोधन  गर्न ओली इलाममा

सुहाङको विजय सभालाई सम्बोधन  गर्न ओली इलाममा

इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि नेकपा एमालेले आज विजय सभा आयोजना गर्दै छ । विजय सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्माले सम्बोधन गर्ने छन् ।

विजय सभा दिउँसो १ बजे आयोजना हुने र पार्टी अध्यक्ष ओलीले सभालाई सम्बोधन गर्ने नेकपा एमाले इलामका सचिव उमेश गुरुङले बताए । गत वैशाख १५ गते भएको उपनिर्वाचनको मत गणना मंगलबार बिहानपख सकिएको थियो । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार सुहाङले २७ हजार ७७२ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाए ।

निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाए । रास्वपाका लिम्बुले कूल सदर मतको १० प्रतिशतभन्दा कम मत पाएकाले जमानत जफत भएको छ ।

अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए । तर उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त भएको स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको थियो  । नेकपा एमालेले सुवासका छोरा सुहाङलाई चुनावी प्रतिस्पर्धामा उतारेको थियो ।