काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु हुँदै छ । बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा बस्नेछ ।
परिषद् बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । यसैगरी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्ने छन् ।
शुक्रबार भएको पत्रकार सम्मेलनमा महासचिव शङ्कर पोखरेलले मुलुकको आवश्यकता, जनचाहनाअनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन, विकास र समृद्धिलाई सुनिश्चित गर्ने बलियो, सुदृढ र निर्णायक राष्ट्रिय शक्तिका रुपमा एमालेलाई विकसित गर्न परिषद् बैठकले स्पष्ट दिशानिर्देश गरी निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । एमालेलाई कसरी अगाडि बढाउने निर्क्योल गर्ने र राष्ट्रिय राजनीतिलाई सही दिशामा अगाडि बढाउने सन्दर्भमा पनि बैठक महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।
बैठकमा मिसन ग्रासरुट, झुलाघाट चिवाभञ्याङ सङ्कल्पयात्राको समीक्षा गर्दै त्यसका आधारमा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने निष्कर्ष निकाल्ने महासचिव पोखरेलले बताए । उनका अनुसार परिषद् बैठकमा यसअघि गरिएको पार्टीका केन्द्रीय सदस्यहरुको कार्यविभाजनको पनि समीक्षा गरिनेछ ।