सुन छानबिन समितिलाई पूर्वसभामुख महराले दिए बयान

सुन छानबिन समितिलाई पूर्वसभामुख महराले दिए बयान

काठमाडौं । पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई सुन छानबिन समितिसमक्ष बयानका दिएका छन् । 

विद्युतीय सिगरेटमा लुकाएर तस्करी भएको ९ किलो सुनका चिनियाँ तस्करसँग महरासँगको सम्पर्क देखिएको थियो । यही प्रकरणका उनका छोरा राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको थियो ।

महरालाई भने बयान कागज गराएर छाडिएको थियो । त्यसबेला सीआईबीसँग उनले ती चिनियाँ नागरिकसँग फलफूल व्यवसायीका रुपमा मात्र चिनजान भएको बताएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले भेप बरामद गरेपछि छुटाउनलाई उनले तत्कालीन भन्सारका प्रमुख प्रशासकलाई फोन गरेका गरेका थिए । शंका लागेपछि भन्सारले जाँच गर्दा गोदाममा भएको भेप नै परिवर्तन गरिएको खुलेको थियो ।

त्यसक्रममा अनुसन्धान गर्न विमानस्थल भन्सारका नायब सुब्बा रेवन्त खड्कासमेतको मिलेमतोमा भेप साटफेर गरेको अनुसन्धानबाट खुलेको थियो । खड्काको बयानबाट भेपभित्र सुन रहेको खुलेको थियो, त्यसपछि यो मामलामा थप छानबिन गरिदिन भन्दै भन्सारले सीआईबीलाई पत्राचार गरेको थियो ।

सीआईबीले गरेको अनुसन्धानका क्रममा चिनियाँ नागरिकसँग पूर्वसभामुख महरा बाबुछोराको सम्पर्क रहेको देखिएको थियो । तर, प्रहरी अनुसन्धान त्यसबेला भेप चोरीमा मात्र केन्द्रीत भयो, सुन ल्याउने समूहविरुद्ध अनुसन्धान भएन ।

जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा दर्ता हुँदा सम्पर्क विवरणसहितको चार्ट सार्वजनिक भएपछि यो मामलामा महरा बाबुछोराको संलग्नता बाहिर आएको थियो । त्यसपछि व्यापाक दबाबबीच प्रहरीले फेरि अनुसन्धान गरेर राहुल महरालाई पक्राउ गरेको थियो भने पूर्वसभामुख महरालाई कागज गराएर छाडेको थियो ।

सरकारले गरेको सुनसम्बन्धी अनुसन्धानमा चित्त नबुझेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतले लामो समयसम्म संसद् अवरोध गरेपछि छानबिन समिति बनाउने निर्णय भएको थियो । त्यसक्रममा सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा समिति बनाएको थियो ।

समितिले भने भेपमार्फत भएको सुन तस्करी, ब्रेक प्याडभित्र लुकाएर ल्याएको सुन तस्करी लगायतका मामलामा छानबिन गरिरहेको छ । ती घटनाहरुमा जोडिएका विभिन्न व्यक्तिहरुसँग फेरि बयान, सोधपुछ र स्थलगत अध्ययन गरेर गरेर तथ्य संकलन गर्ने काम भइरहेको समितिका एक सदस्यले बताए ।