तीनवटा नागरिकता र दुईवटा पासपोर्ट लिएका पाण्डेय बने संसद्को महासचिव

तीनवटा नागरिकता र दुईवटा पासपोर्ट लिएका पाण्डेय बने संसद्को महासचिव

काठमाडौं । तीनवटा नागरिकता र दुईवटा राहदानी बनाएका पद्मप्रसाद पाण्डेयलाई सभामुख र राष्ट्रियसभा अध्यक्षको दबाबमा  संघीय संसद्को महासचिवमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति गरेका छन् ।

राष्ट्रपति पौडेलले पाण्डेयले सचिवबाट दिएको राजीनामा स्वीकृत गरेको केही मिनेटमै महासचिव नियुक्ति गरेका थिए । पाण्डेयको तीनवटा नागरिकता र त्यसैबाट बनाइएका राहदानीका बारेमा राष्ट्रपति पूर्णतः जानकार थिए ।

सो नागरिकता उनले १० वर्षसम्म कायमै राखेर रद्द गराएका थिए ।  रद्द गराउने बेलामा प्रमुख जिल्ला अधिकारीलाई नै सरुवा गराएर पुरानो नागरिकता कायम गराइएको थियो ।

रद्द गराएपछि उनले लिएको अर्को नागरिकता पनि पुरानोको प्रतिलिपि नभई नयाँ नम्बरको रहेको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा प्राप्त सरकारकै कागजातबाट उनले तीनवटा नागरिकता र दुईवटा पासपोर्ट लिएको खुलेको समिति स्रोतले जानकारी दियो ।

सो समितिले छानिबन पूरा नगर्दै राष्ट्रपतिले पाण्डेयलाई नियुक्ति दिएका हुन् । पहिले राष्ट्रपति कार्यालयले नै रोकेर राखेको उनको नियुक्ति प्रक्रियामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकजना सांसदले दिएको दबाबपछि राष्ट्रपति पौडेल अडानबाट पछि हटेको स्रोतले जानकारी दियो ।

पाण्डेयविरुद्ध परेको उजुरीका विषयमा संसदीय समितिले मागेको विवरणमा गृह मन्त्रालयले परराष्ट्रबाट स्पष्ट हुनुपर्ने सुझावसहितको प्रतिवेदन समितिमा पठाएको थियो । 

परराष्ट्रले पाण्डेयले दुईवटा पासपोर्ट पनि लिएको विवरण समितिसमक्ष पठाएको स्रोतले जानकारी दियो । तर समितिमा त्यस विषयमा छलफल भने भइसकेको छैन ।

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नै ‘विवादित’ पाण्डेयलाई नियुक्ति गर्नैपर्ने अडानमा उत्रिएका थिए । पाण्डेयको नियुक्तिका लागि अघिल्ला महासचिव भरत गौतमलाई ९ महिना पहिल्यै दबाबमा राजीनामा गर्न लगाइएको थियो ।