मेयर सिंहलाई तत्काल कारबाही गर्न माग गर्दै पर्साका नेताहरू काठमाडौँमा

मेयर सिंहलाई तत्काल कारबाही गर्न माग गर्दै पर्साका नेताहरू काठमाडौँमा

काठमाडौँ । वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै पर्साका विभिन्न राजनीतिक दलका नेताहरू काठमाडौँ आएका छन् । नागरिकता किर्ते काममा मेयर सिंह संलग्न भएको भन्दै कानुनी कारबाहीको माग गर्दै पर्साका राजनीतिक दलका स्थानीय नेताहरू काठमाडौँ पुगेका छन् । 

रिपोर्टस क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय नेताहरूले मेयर सिंह गैर कानुनी काममा संलग्न भएको पुष्टि हुँदा समेत प्रशासनले कारबाही नगरेको भन्दै गुनासो गरे । नेताहरूले राजेशमान सिंहलाई तत्काल पदबाट निलम्बन गर्न समेत माग गरेका छन् । उनीहरूले आ आफ्ना दलका नेताहरूलाई भेटेर कारबाहीका लागि पहल गर्न दबाब समेत दिएका छन् । 

पर्साका महम्मद सशाबुदिन, अनिल सिंह, अजय कुमार गुप्ता, विजय महतो, मुकेश द्धिवेदी, पुरुषोत्तम झा, दिलीप कुमार कुर्मी, जलेश्वर सर्राफ, मनोज राउत कुर्मीले वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई तत्काल पदबाट निलम्बन गर्न माग गरेका हुन् । झुटो विवरण पेस गरी लिएको नागरिकता बदर गरी थप कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी समेत परेको छ ।

मेयर सिंहले नक्कली बाबु बनी रुविना श्रेष्ठलाई नागरिकता दिलाएको खबर बाहिर आएपछि उनिविरुद्ध छानविन सुरु भएको छ ।