काठमाडौँ आइपुग्यो मेलम्चीको पानी, प्रधानमन्त्रीले फेरि शुभारम्भ गर्ने

काठमाडौँ आइपुग्यो मेलम्चीको पानी, प्रधानमन्त्रीले फेरि शुभारम्भ गर्ने

काठमाडौँ । वर्षायाममा मेलम्ची नदीमा आएको बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुगेपछि बन्द भएको मेलम्चीको पानी मर्मतपछि फेरि काठमाडौँ आइपुगेको छ ।

पानी संकलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी आइरहेको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय परिसरमा रहेको धारा खोलेर मेलम्चीको खानेपानी वितरणको पुनः शुभारम्भ गर्ने भएका छन् । सोमबार बिहान वितरण शुभारम्भ गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जाक्की अहमद अन्सारीले  जानकारी दिए ।

जसअनुसार भोलिदेखि मीनभवन र अनामनगर क्षेत्रमा पानी वितरण हुनेछ । एक दुई दिनभित्र सबै ठाउँमा पानी वितरण भइसक्ने अन्सारीले जानकारी दिए । मेलम्ची खोलाबाट गत बुधवारदेखि पानी पठाउन थालिएकोमा सुन्दरीजलको पानी भण्डारण तथा प्रशोधन केन्द्रमा शनिवार साढे ८ करोड हाराहारी पानी आएको थियो । 

आइतबारदेखि सुरुङ पूर्ण रूपमा भरिएर १७ करोड लिटर पानी आइरहेको उनले बताए । सुन्दरीजलमा पानी प्रशोधन भएर सो परिणामको पानी वितरण प्रणालीमा जाने अन्सारीले जानकारी दिए ।