राष्ट्रियसभा सदस्य निर्वाचन : ५१ उमेदवारले पाए निर्वाचन चिह्न

राष्ट्रियसभा सदस्य निर्वाचन : ५१ उमेदवारले पाए निर्वाचन चिह्न

काठमाडौं । आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उमेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो । 

सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उमेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 
 
निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उमेदवार मैदानमा छन् । उक्त निर्वाचनका लागि यही पुस २३ गते उमेदवारी मनोनयनपत्र दर्ता भएको थियो । आयोगका अनुसार कोसी प्रदेशमा पाँच, मधेसमा पाँच, वाग्मतीमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा ६ जना उमेदवार छन् । 

कर्णाली प्रदेशमा र सुदूरपश्चिम प्रदेशमा ६र६ जना उमेदवारको मनोनयनपत्र दर्ता भएको छ । सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्याक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उमेदवार छन् ।