नेकपा व्यूत्याउने गुप्त योजना, ओली-प्रचण्ड संरक्षक, विद्या भण्डारी अध्यक्ष

नेकपा व्यूत्याउने गुप्त योजना, ओली-प्रचण्ड संरक्षक, विद्या भण्डारी अध्यक्ष

काठमाडौँ । नेपालमा भारतीय विदेशमन्त्री एस जयशंकर आएकै समयमा चिनिया उच्चस्तरीय प्रतिनिधिमण्डल नेपालमा नेकपा व्युत्याउने मिशनका साथ सक्रिय थियो । यसको सङ्केत पाएका जयशंकरले शीर्ष नेताहरुसँगको भेटमा मुखै फोरेर असन्तुष्टि पोखेका थिए । 

चिनिया चलखेलको गन्ध पाएपछि जयशंकरले आफूले भेटेका नेताहरूलाई भारत वर्तमान सत्ता गठबन्धनकै पक्षमा रहेको सन्देश दिएका थिए । उनले प्रचण्डलाई गठबन्धन तलमाथि गर्नपट्टि लागेमा पुन कहिल्यै प्रधानमन्त्री बनाउन भारत सकारात्मक नरहने चेतावनी नै दिएको स्रोतको दाबी छ । चिनियाँ चलखेलको गन्ध पाएरै उनले स्थिरताको लागि यही सरकार पाँचै वर्ष कायमै रहे पनि भारतलाई कुनै समस्या नहुने मोदीको सन्देश भन्दै सुनाएका थिए । 

तर जयशंकर फर्किएसँगै चिनिया चाहना अनुसार नै राजनीतिक घटनाक्रम अघि बढेको छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभामा त्यसै एमालेलाई साथ लिएर अघि बढ्न चाहेका होइनन् । उनको प्रयास तत्कालको लागि टरे पनि दीर्घकालीन रूपमा एमालेलाई नबिच्काउने रणनीति लुकेकै छ । तर यो सहकार्य पछिल्लो समय नेकपा व्यूताउने तहसम्म विकास भएको बताइन्छ । 

एमाले अध्यक्ष केपी ओली पनि कुनै पनि हालतमा गठबन्धन फुटाउन नसकेपछि थकित छन् । पाँच वर्ष देशै भरी प्रतिपक्षमा थन्किएपछि ०८४ को निर्वाचनमा पार्टीलाई उकास्न सहज नहुने उनको बुझाइ छ । त्यसमा पनि नयाँ दलहरूको आगमनले सबै दलको मनमा ढ्याङ्ग्रो ठोकेकै छ । यी सबै परिदृश्यलाई मनन गर्दै नेकपा व्यूताउने नेताहरूको चाहनामा उनी सकारात्मक देखिएका छन् । 

प्रचण्ड ओली संरक्षक, विद्या भण्डारी अध्यक्ष

त्यसो त नेकपा व्यूत्याउन एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताले सक्रियता बढाइरहेकै छन् । उनीहरूलाई एउटै समस्या कोट्याउँदै आएका छन्– दुई नेताको व्यवस्थापन । ओली र प्रचण्ड दुबैलाई अध्यक्ष बनाउँदा यसअघि नेकपा टिक्न नसकेको कुरालाई मध्यनजर गर्दै यसपटक दुवै अध्यक्षलाई संरक्षक बनाउनुपर्ने विषयमा नेताहरू सहमति निकट पुगेको बताइन्छ । 

दुई अध्यक्षलाई संरक्षक बनाउने र पूर्व राष्ट्रपति विद्या भण्डारीलाई अध्यक्ष बनाउनुपर्ने मत दोस्रो तहका नेताहरूमा बलियो बन्दै गएको छ । संरक्षकलाई पनि कार्यकारी अधिकार दिने र अध्यक्षमार्फत योजना लागु गर्ने गरी पार्टी एकीकरण गर्न दुवै पार्टीका नेताहरू सहमत देखिएको स्रोतको दाबी छ ।