एमालेको सचिवालय बैठकले गर्यो यस्तो निर्णय, गठबन्धनसँगको सहकार्यबारे ओलीले के भने ?

एमालेको सचिवालय बैठकले गर्यो यस्तो निर्णय, गठबन्धनसँगको सहकार्यबारे ओलीले के भने ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा १९ वटा पदमा नै उमेदवारी दिने बताएका छन् । आजको सचिवालय बैठकले १९ वटै पदका उमेदवारका विषयमा छलफल भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । 

उनका अनुसार विभिन्न क्लष्टरबारे निर्क्यौल गर्नुपर्ने भएकाले आज टुंगो लागेको छैन । माघ ११ गते हुने निर्वाचनका लागि मंसिर २३ गते उमेदवारी मनोनय हुँदैछ । एमाले र सत्ता गठबन्धनबीच राष्ट्रियसभामा भागबण्डा हुने चर्चा भएको थियो । 

स्रोतका अनुसार आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बाहिर चर्चा भएजस्तो प्रस्ताव नआएको ब्रिफिङ गरेका छन् । “हामीले त्यसरी प्रस्ताव गरेका पनि छैनौँ,” ओलीले बैठकमा भनेका छन्, “प्रस्ताव आएको पनि छैन ।” 

साथै पार्टीले ६ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गरेको छ ।  बैठकको निर्णय जानकारी गराउँदै पोखरेले तुलसी न्यौपाने, केशव पाण्डे, दामोदर भण्डारी, रामअवतार यादव, विनोद शाह र दिपक कार्कीलाई केन्द्रीय सदस्य मनोनीत गरिएको जानकारी दिए । 

कार्कीबाहेक सबै पूर्वप्रदेश अध्यक्ष भएर जिम्मेवारी सम्हाली सकेका छन् । कार्कीले झापा जिल्ला अध्यक्ष भएर काम गरिसकेको उनले बताए ।