जनताले मलाई देश बचाऊ भन्दै छन्, मैले नियालिरहेको छु  ः पूर्वराजा शाह

जनताले मलाई देश बचाऊ भन्दै छन्, मैले नियालिरहेको छु  ः पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देश निर्माणका लागि सबै एक‍ ठाउँमा उभिनुपर्ने बताएका छन् । बिहीबार भैरहवा पुगेका पूर्वराजा शाहले राष्ट्रियता र नागरिकको सर्वोत्तम हित हुने व्यवस्था जनता आफैँ तय गर्नुपर्ने पनि बताए ।

'के गर्दा र के कस्तो विधि अवस्था बदल्दा हाम्रो राष्ट्रिय मान्यता बन्छ, अनि कसप्रकार अघि बढ्दा नेपाल र नेपालीको सर्वोत्तम हित हुन्छ, त्यो हामी आफैँले तय गर्ने विषय हो,' उनले भने ।

पूर्वराजा शाहले आफू जता जाँदा पनि जनताबाट 'आऊ, हाम्रो देश बनाऊ र देश बचाऊ, देशको सभ्यता र समृद्धि बढाऊ’ भनेर आउने गरेको दाबी गरे ।

'हामी सबैको दृढ प्रयत्न यसैअनुरूप हुनुपर्छ भन्ने हामीलाई लाग्छ । त्यसैले म भन्छु, आऊ अब हामी सबै एकै ठाउँमा उभिऔँ,' उनले भने ।

उनले आफूले अहिलेको अवस्थालाई नजिकबाट नियालिरहेको पनि बताए । 'म कतै अन्त गएको छैन । सदा नेपालीको साथमा छु, नेपालभित्रै छु । नेपालीहरूको सुख दुस्ख, सुविधा–असुविध बाधा पीडा तथा हिजो आजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु,' उनले भने ।

पूर्वराजा शाहले अहिले देश जर्जर अवस्थामा पुगेको पनि टिप्पणी गरे । बेराजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिका कारण लाखौँ युवा विदेशिएको उनको भनाइ छ । देशमै उत्पादन, उद्यम, इलम, सिप, शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्नुपर्ने उनको भनाइ छ ।