एमालेलाई राष्ट्रियसभामा शून्य नबनाइदिन प्रचण्डसँग ओलीको आग्रह

एमालेलाई राष्ट्रियसभामा शून्य नबनाइदिन प्रचण्डसँग ओलीको आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा एमालेलाई शून्य नबनाइदिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमाले अध्यक्ष ओलीले राष्ट्रियसभामा आफूहरूलाई शून्य नबनाउन आग्रह गरेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

“हामीलाई जिरो नगर्नुस् भन्ने कुरा ओलीबाट आएको थाहा पायौँ । हामीले सबै दलको बीचमा सल्लाह गरेर खास कङ्क्रिट कुरा बुझेर अघि बढौँ भनेका छौँ,” गठबन्धन दलको बैठकपछि उनले भने । 

यसमा गठबन्धन दल सहमत भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले एमालेबाट स्पष्ट कुरा आइनसकेको बताए ।

“हामी त्यसको टुंगोमा पुगेको छैनौँ । भन्न खोजेको के हो माग के हो क्लियर कुरा आओस् भन्ने अनि के गर्ने भन्ने निर्णय हुन्छ,” उनले थपे । 

उपाध्यक्ष पाण्डेले कांग्रेस–माओवादी बैठकमा पनि यस विषयमा छलफल भएको जानकारी दिए । 

“कांग्रेस–माओवादीको बैठकमा ओलीजीले यस्तो प्रस्ताव लिएर आएर के गर्ने भन्ने विषयमा कन्डिसल अवस्थाको विषयमा छलफल भएको हो,” उनले भने । 

गठबन्धनको अर्को बैठक भोलि बिहान ९ बजेका लागि बोलाइएको छ ।