राप्रपा नेताहरू र पूर्वराजा शाहबिच भेटवार्ता, के विषयमा भयो छलफल ?

राप्रपा नेताहरू र पूर्वराजा शाहबिच भेटवार्ता, के विषयमा भयो छलफल ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूले पूर्वराजा ज्ञाने‍न्द्र शाहसँग सामूहिक भेट गरेका छन्। बुधबार भैरहवा पुगेर राप्रपाका नेताहरूले पूर्वराजा शाहसँग कुराकानी गरेका हुन्।

पूर्वराजासँग छलफल गर्न राप्रपा नेताहरू काठमाडौंबाट आज भैरहवा पुगेका थिए। ‘देशको परिस्थिति र समसामयिक विषयमा उहाँसँग हामीले भलाकुसारी गरेका हौं,’ महामन्त्री धवलशमशेर राणाले भने, ‘होटलमा करिब डेढ घन्टा उहाँसँग कुराकानी गरेका थियौं।’

पूर्वराजा शाहले देशको परिस्थिति कस्तो छ भन्नेबारे राप्रपा नेताहरूसँग सोधेका थिए।  ‘देशको परिस्थिति के छ भनेर उहाँले सोध्नुभएको थियो। हामीले पनि उहाँको भ्रमणका विषयमा बुझ्यौं,’ उनले भने, ‘जनताको माग, परिस्थितिजस्ता कुरा पनि भए।’

राजसंस्था, हिन्दुराष्ट्र पुनर्स्थापना र संघीयता खारेजीका लागि घोषणा गरेको आन्दोलनबारे पनि पूर्वराजालाई जानकारी गराइएको उनको भनाइ छ। ‘सबै राजावादी र राष्ट्रवादीलाई एक ठाउँमा ल्याएर हामी अघि बढ्छौं भन्ने कुरा उहाँलाई जानकारी गराइएको छ,’ महामन्त्री राणाले भने।