प्रचण्ड र ओलीबिच भेटवार्ता, राष्ट्रियसभा निर्वाचनमा सहकार्य गर्ने तयारी

प्रचण्ड र ओलीबिच भेटवार्ता, राष्ट्रियसभा निर्वाचनमा सहकार्य गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा निर्वाचनमा एमालेलाई पनि सँगै लिएर जाने गृहकार्य अघि बढाएका छन् । माघ ११ गते राष्ट्रियसभाको १९ सीटमा निर्वाचन हुँदैछ ।

सत्ता गठबन्धन दलहरु मिलेर जाने सहमति बनेको हुँदा राष्ट्रियसभा निर्वाचनमा एमालेले कुनै सीट जित्न सक्ने अवस्था छैन । तर, प्रधानमन्त्रीले एमालेसँग पनि छलफल गरेको माओवादीका एक पदाधिकारीले स्वीकारे । उनका अनुसार यस विषयमा प्रचण्डले हिजो बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।

सत्ता गठबन्धनमा कुनै समस्या नआउने गरी प्रधानमन्त्री प्रचण्डले एमालेलाई पनि समेट्न खोजेको ती नेताको भनाइ छ । तर, सीट नै तोकेर भने एमालेलाई प्रधानमन्त्रीले कुनै प्रस्ताव नगरेको उनले बताए ।

उनले गठबन्धनभित्रै भागबन्डाको लछाचुँडी भइरहेको बेलामा एमालेले त्यो अपेक्षा नगरेको बताए । ज्ञवालीले थपे, ‘राष्ट्रियसभाको सीट उहाँहरुलाई पुगेको छैन, भागबन्डा गर्दै हुनुहुन्छ । हामीले हाम्रो तरिकाले तयारी गर्दैछौं ।’

तर, एमाले राष्ट्रियसभाको निर्वाचनलाई उपयोग गरेर गठबन्धन भत्काउन चाहन्छ । एमालेका सचेतक महेश बर्तौलाले नेपाल प्रेससँग भनेका थिए, ‘यो सरकार र गठबन्धन देश र जनताको हितको लागि भत्किनु आवश्यक छ । त्यसैले यो गठबन्धन फोड्न एमाले जे गर्न पनि तयार छ । त्यो देशको लागि हो ।’

यसअघि एमालेले कांग्रेसलाई राष्ट्रपतिबाट मनोनीत हुनेसहित रिक्त २० मा १३ दिएर बाँकी ७ सीट आफूले लिन तयार रहेको प्रस्ताव गरेको थियो । तर, त्यो प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवाले सकारात्मक जवाफ दिएका थिएनन् ।

एमालेबाट राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, मनोनीत विमला पौड्यालसहित भैरवसुन्दर श्रेष्ठ, नरपति लुवार, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा, ईन्दु कडरिया र रामचन्द्र राईको पदावधि सकिँदैछ।

यो निर्वाचनमा गठबन्धन भत्काएर एक सीट पनि जित्न नसके राष्ट्रियसभामा एमाले ८ सीटमा खुम्चिनेछ । सत्ता गठबन्धन दलहरुबीच आफ्नो रिक्त भएको पद जोगाउँदै एमालेको ९ पदमा भागबन्डा गर्ने सहमति भइसकेको छ । यद्यपि, संख्या टुंग्याउन सकेका छैनन् ।

आज बिहानमात्रै कांग्रेसले माओवादीसँग सीट बाँडफाँटको विषयमा छलफल गरेको थियो । आज बिहान भएको बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए भने कांग्रेसबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र नेता रमेश लेखक सहभागी थिए ।

गठबन्धनका दुई ठूला दलबीच अन्य दलसँग पनि छलफल गरेर सीटको भागबन्डा टुंग्याउने सहमति बनेको छ । तर, प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाको बाँकी कामसहित अहिले व्यवस्थामाथि प्रश्न उठिरहेको अवस्थामा सबैलाई समेटेर जानुपर्ने भन्दै एमालेलाई पनि साथमा लिएर जाने मनस्थिति बनाएका छन् ।

उनले सोमबार मेलमिलाप दिवसको अवसरमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा आफूले यसअघि पनि राष्ट्रिय सहमतिको प्रयास गरेको भन्दै शान्ति प्रक्रिया, संविधान कार्यान्वयन र विकासका चुनौतीको सामना गर्न सबैलाई आह्वान गरेका थिए ।