प्रदर्शनको ५१ औं दिनमा ‘दिमाग खराब’

प्रदर्शनको ५१ औं दिनमा ‘दिमाग खराब’

काठमाडौँ । निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ ले शनिबार प्रदर्शनको ५१ औं दिन मनाएको छ । फिल्म निर्माण पक्षले काठमाडौंको न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा एक कार्यक्रम गर्दै ५१ दिन मनाएको हो । कार्यक्रममा फिल्म निर्माता, निर्देशक, कलाकार, मिडियाकर्मीलगायतको उपस्थिति थियो । 

कात्तिक २४ गतेदेखि देशव्यापी प्रदर्शनमा आएको फिल्म रञ्जना सिनेप्लेक्समा प्रदर्शन भइरहेको छ । नेपालसहित अन्य केही देशमा चलिरहेको फिल्मले हालसम्म करिब १० करोडको व्यापार गरेको जनाइएको छ । निर्देशक बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का फिल्मको प्रवर्द्धनका लागि हालै अस्ट्रेलिया पुगेर फर्केका छन् । फिल्म चाँडै नै छिमेकी देश भारतमा प्रदर्शन गर्ने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ ।

फिल्ममा निश्चलसहित खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बरालको मुख्य भूमिका रहेको छ । त्यस्तै, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलियालगायतले पनि फिल्ममा अभिनय गरेका छन् ।

सिनेमा आर्ट र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको फिल्म राजनीतिक विषयवस्तुमा केन्द्रित छ । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको फिल्मका निर्माता रौनक विक्रम कँडेल र कार्यकारी निर्माता सुरज बम ठकुरी हुन् । फिल्ममा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन वाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन र रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।