राष्ट्रियसभा निर्वाचनमा विद्रोह गर्ने शेखर समूहको तयारी, एमालेसँग होला सहकार्य ?

राष्ट्रियसभा निर्वाचनमा विद्रोह गर्ने शेखर समूहको तयारी, एमालेसँग होला सहकार्य ?

काठमाडाैँ । आगामी माघ ११ गते राष्ट्रियसभा चुनावका लागि मतदान हुँदै छ । पुस २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेकोले दलहरु उम्मेदवार चयनको अन्तिम गृहकार्यमा जुटेका छन् । 

१९ सिटका लागि हुने चुनावमा सत्तारुढ गठबन्धनका दलहरु कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच तालमेल गरेर जाने सहमति छ । गठबन्धन हुँदा कांग्रेसको भागमा ९ सिट पर्ने अवस्थामा आकांक्षीहरुको भने भीड लागेको हो । 

साथै उम्मेद्वार चयनमा गटगत प्रभाव पर्ने देखिएपछि शेखर कोइराला समूह सभापति शेरबहादुर देउवासँग रुष्ट बन्दै आएको छ । यो समूह सम्मानजनक भाग नपाए कोशी प्रकरण दोहोर्याउने रणनीतिमा छ । 

गठबन्धनमा रहेर पाउने सिट भन्दा बढी सिट दिने भन्दै नेकपा एमालेले गठबन्धन भत्काउन छिर्केनी हानीरहेको समयमा सिंगो पार्टी एमालेसँग तालमेल गर्न तयार नभए पनि सम्मानजनक स्थान नपाए शेखर समूहले एमालेलाई साथ दिने देखिएको छ । 

सबै प्रदेशमा सम्भव नभए पनि आफ्नो समूह र एमालेको मतभार जोड्दा जित निश्चित हुने प्रदेशमा सहकार्य गर्नसक्ने कोइराला समूहले बताएपछि एमाले पनि उत्साहित रहँदै आएको छ । 

यता एमाले र शेखर समूहको निकटताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा सशंकित रहँदै आएका छन् । कोशीमा परेको भ्वागं टाल्न नपाउँदै राष्टिय सभा निर्वाचनमा शेखर कोइरालाले विद्रोह गर्ने तयारी गरेपछि यसको असर कांग्रेसमा मात्र नभइ गठबन्धन र सरकारमा समेत पर्ने देखिन्छ । एउटै तीरले तीन शिकार गर्ने एमाले अध्यक्ष केपी ओलीको रणनीति सफल हुन्छ या हुँदैन, यो विषय एकाध महिनामै खुलासा हुने नै छ ।