प्रचण्ड सरकारको एक वर्षको प्रगतिबारे के भन्छन् बाबुराम भट्टराई ?

प्रचण्ड सरकारको एक वर्षको प्रगतिबारे के भन्छन् बाबुराम भट्टराई ?

काठमाडौं । नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको एक वर्षे कार्यकालको मूल्यांकनबाट उत्साहित हुनुपर्ने अवस्था नरहेको टिप्पणी गरेका छन् । सरकारले प्राथमिकता दिएका र दिनुपर्ने प्रमुख काम सुशासन, आर्थिक सुधार, शान्तिप्रकृयाको पूर्णतालगायतमा उल्लेख्य प्रगति नदेखिनुमा औपचारिकरूपमा सरकारको नेतृत्व गर्ने दल र व्यक्तिले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।

यो निर्वाचन प्रणालीबाट कसैको पनि सुविधाजनक बहुमत नआउने भएकाले संघमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री तथा प्रदेशमा मुख्यमन्त्री र पूर्णसमानुपातिक संसद÷प्रदेशसभाको व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

उनको भनाइ जस्ताको तस्तैः
सरकारको एकवर्षे कार्यकालको मूल्यांकन गर्दा खासै उत्साहित हुनुपर्ने अवस्था नरहेको जोकसैले स्वीकार्न करै लाग्छ। सरकारले प्राथमिकता दिएका र दिनुपर्ने प्रमुख काम सुशासन, आर्थिक सुधार, शान्तिप्रकृयाको पूर्णता लगायतमा उल्लेख्य प्रगति नदेखिनुमा औपचारिक रूपमा सरकारको नेतृत्व गर्ने दल र व्यक्तिले जिम्मेवारी लिनुपर्ने त हुन्छ नै । तर अन्तर्यमा गएर हेर्ने हो भने रामप्रसाद÷रामबहादुर÷रामकुमारीको ठाउँमा श्यामप्रसाद÷श्यामबहादुर÷श्यामकुमारी नै भएको भए पनि वर्तमान निर्वाचन प्रणाली÷शासकीय स्वरूप अन्तर्गत उन्नाइसको ठाउँमा बीस बाहेक अरू हुन गाह्रैपर्छ भन्ने कटुसत्यलाई पनि सबैले स्वीकार्नैपर्छ !

जब यो निर्वाचन÷शासकीय प्रणाली अन्तर्गत कसैको पनि सुविधाजनक बहुमत प्राप्त हुन सक्दैन, भैहाले पनि वीचैमा संसदीय दल विभाजित हुनसक्छ र प्रधानमन्त्रीको सम्पूर्ण शक्ति र समय कुर्सी टिकाउनमा व्यतित हुन्छ त्यहाँ कसरी सुशासन हुनसक्छ? वा आर्थिक सुधार लगायतका रणनीतिक महत्वका काम हुनसक्छ? त्यसैले सरकारको एकबर्षे कार्यकालको मूल्यांकन सँगसँगै निर्वाचन÷शासकीय प्रणालीको सुधार गरेर संघमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री तथा प्रदेशमा मुख्यमन्त्री र पूर्ण समानुपातिक संसद÷प्रदेशसभाको व्यवस्था गर्नेतर्फ ध्यान केन्द्रित गर्ने कि ?

जहाँसम्म सत्यनिरूपण तथा मेलमिलाप आयोग र वेपत्तासम्बन्धी आयोगको काम छिटो सम्पन्न गरेर शान्तिप्रक्रियालाई पूर्णता दिने कुरा छ यो सिंगो राज्यको दायित्वको कुरा हो, कुनै पार्टी विशेषको मात्र हैन र हुन सक्दैन। किनकि यो बृहद शान्ति–सम्झौता र संविधानले निर्दिष्ट गरेको विषय र लाखौं द्वन्दपीडित जनताको सरोकारको विषय हो। हाम्रो शान्तिप्रक्रियाको मूल मर्म सत्य कुरो बताएर क्षमा दिने÷लिने र देशमा दिगो ‘मेलमिलाप’ र शान्ति कायम गर्ने हो। यसमा कसैले पनि हलो अड्काएर गोरू चुट्ने काम नगरौं।

अनि अन्तर्राष्ट्रिय समुदायको चासोको प्रश्नमा सबै नेपाली नागरिक र दलहरूले एक मुखले भनौं– सबै देशको जस्तै हाम्रो देशको शान्तिप्रकृया हाम्रै मौलिकता सहितको हुन्छ! ग्वान्तानाओ बे, गाजा जस्ता विभत्स मानव अधिकारका उल्लंघनकर्ताहरूले हामीलाई अर्तिउपदेश दिने कुनै नैतिक अधिकार छैन!