काम गर्न नसक्ने मन्त्रीलाई हटाउँछु, अब क्रमभङ्ग हुन्छ : प्रधानमन्त्री

काम गर्न नसक्ने मन्त्रीलाई हटाउँछु, अब क्रमभङ्ग हुन्छ : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले परिणाम नआए मन्त्रीहरू फेरेर भएपनि जनतालाई सेवा दिने गरि परिणाम निकाल्ने बताएका छन् ।

मोरङको मिक्लाजुङ ५ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले काम नगर्ने मन्त्रीहरुलाई फेर्ने बताएका हुन् । उनले आफ्नो कार्यकाल १ वर्ष पुगेको अवसरमा पुस १० गते विशेष सम्बोधन गर्ने बताए । उनले भने, ‘त्यसपछि नयाँ प्रक्रियाबाट जनताका काम गर्छु । अव निरन्तरतामा क्रमभङ्ग हुन्छ ,’

उनले प्रतिबद्धताअनुसार काम नभए मन्त्री फेरेर भएपनि कामलाई गति दिने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले लाभाखोला वृहत खानेपानी योजना सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरे । यस्तै चुलाचुली, मिक्लाजुङ, लेटाङ सडक योजना अगाडि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । उनले उर्लाबारी, मधुमल्ला र दारेगौंडा सडक निर्माणको अधुरो योजनालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

मोरङको पथरी शनिश्चरेको सुकुमबासीको समस्या समाधानमा पहल गर्ने, किसानले बिक्री गरेको दूधको मूल्य दुग्ध विकास संस्थालाई सहुलियत ऋण उपलब्ध गराउने पनि उनले प्रतिबद्धता व्यक्त गरे ।