मन्त्री फेर्ने तयारीमा प्रचण्ड, कुन–कुन मन्त्री हुदैंछन् बिदा ?

मन्त्री फेर्ने तयारीमा प्रचण्ड, कुन–कुन मन्त्री हुदैंछन् बिदा ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको एक वर्षे अवधिको समीक्षा गर्दै मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य अघि बढाएका छन् । आगामी वर्ष फरक ढंगले काम गर्न चाहेको बताउँदै आएका प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे गठबन्धन दलसँग छलफल अघि बढाएका हुन् ।

एक वर्षे कार्यकालको समीक्षा गर्दै सोमबार ललितपुर पुगेर उनले भनेका थिए, ‘मैले सरकारको नेतृत्व गरेको एक वर्ष पुग्दैछ । एकवर्षपछि मैले नयाँ ढंगले काम गर्ने सोच्दैछु राष्ट्र र जनताको निम्ति । मैले गरेको सकारात्मक प्रयासलाई साथ नपाएको पीडा मैले महसुस गरेको छु ।’ त्यसो त आज बसेको मन्त्रिपरिषद् बैठकमा पनि सरकार गठनपछिको एक वर्षे कामको समीक्षा भएको छ । सरकारकी प्रवक्ता रेखा शर्माले बैठकपछि भनिन्, ‘हाम्रो सरकारको एक वर्षे कार्यकाल पूरा हुँदैछ । त्यसमा सामान्य छलफल र समीक्षाहरू भए । गएको एक वर्षमा सरकारले गरेका समग्र कामको पिकअप लिन कतिपय हाम्रा प्रक्रियामा भएका समस्या, इच्छाशक्तिमा भएका समस्यादेखि सुधार गर्नुपर्ने सबै कुराहरूबारे मुख्यसचिवले विस्तृत प्रस्तुति दिनुभयो ।’

आजको बैठकमा सरकारको समीक्षाबाहेक थप छलफल नभएको उनले बताइन् । तर, उनले आइतबार नै प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य थालेको संकेत गरेकी थिइन् ।  ‘आवश्यकताअनुसार मन्त्रिमण्डल परिवर्तन हुनसक्छन् । अहिले मन्त्रीहरू केही परिवर्तन हुन्छ कि भन्ने कुरा छैन’, उनले भनेकी थिइन् । यता, कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा केही मन्त्री फेर्ने विषयमा गठबन्धनमा सहमति भइसकेको बताउँछन् ।

उनले भने, ‘केही मन्त्रीहरू फेर्ने विषयमा प्रधानमन्त्रीले उच्च स्तरमा छलफल गरिराख्नुभएको छ । केही फेरबदल गर्ने विषयमा सहमति भइसक्यो । अहिले चर्चा भइसकेको छ । तर, कांग्रेस तत्काल त्यता नलाग्दैन ।’ राष्ट्रियसभा निर्वाचन र महासमिति बैठक अघि कांग्रेसले मन्त्रिपरिषद् पुनर्गठन गर्ने पक्षमा नरहेको उनको भनाइ छ । देउवाले राष्ट्रिय सभाको निर्वाचनपछि आफूलाई महाधिवेशनमा सहयोग गरेका पार्टीको शीर्ष नेताहरूलाई सरकारमा ल्याउने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले पार्टीभित्र असन्तुष्टि रोक्न एकैपटक मन्त्रीहरू फेर्ने प्रयास गरेका छन् । तर, कांग्रेस तत्काल मन्त्री फेर्ने पक्षमा नरहेकाले दुई चरणमा फेर्न सुझाव दिएको नेताहरू बताउँछन् ।

देउवाले यसपटक कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभामा ल्याएर सरकारको नेतृत्व गरेर सरकारमा पठाउने तयारी गरेको कांग्रेसवृत्तमा चर्चा छ । तर गत निर्वाचनमा पराजित सिटौलालाई राष्ट्रियसभामा ल्याउने नल्याउने भन्ने विषयमा कांग्रेसमा विवाद छ । कांग्रेस संस्थापनपक्षको बलियो साथ पाएका प्रधानमन्त्रीले मन्त्री फेर्ने तयारी गर्दा इतर पक्ष सरकार नै फेर्नुपर्ने पक्षमा छ । प्रधानमन्त्रीले मन्त्रीहरूको एक वर्षे कामको रिपोर्ट कार्ड माग्दै गर्दा कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीले पहिला देखाउनुपर्ने तर्क गर्छन् ।

सोमबार नुवाकोट पुगेका कोइरालाले कांग्रेसले सरकारको नेतृत्व लिन ढिला गर्न नहुने बताए । उनले भनेका थिए, ‘अर्थमन्त्रीजी यहीँ हुनुहुन्छ । पुस ५ देखि १० गतेसम्म प्रधानमन्त्रीले मन्त्रीहरूलाई काठमाडौं नछाड्नु भनेको मैले सुनेको छु । रिपोर्ट कार्ड हेर्ने होला । म त प्रधानमन्त्रीको रिपोर्ट कार्ड मागिरहेको छु ।’ प्रधानमन्त्री प्रचण्डले हालैमात्रै मन्त्रीहरूको रिपोर्ट कार्ड मागेका थिए । तर, अधिकांश मन्त्रीहरुको प्रगति विवरण सन्तोषजनक नभएपछि प्रधानमन्त्री तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्ने निष्कर्षमा पुगेको बताइन्छ । प्रधानमन्त्रीले प्रचण्डले गठबन्धन दलमा सहमति बने पुस १० अघि नै मन्त्रिपरिषद् पुनर्गठन चाहेको चर्चा छ । तर, पार्टी पदाधिकारी बैठकमा त्यसमा छलफल नभएको सचिव दिनानाथ शर्माले बताए ।

उनले भने, ‘पदाधिकारी बैठकमा यो एजेण्डा थिएन । त्यही भएर हिजोको बैठकमा यो कुराले प्रवेश पाएन अब बस्ने बैठकमा पाउनसक्छ ।’ अर्का सचिव गणेश शहा मन्त्रिपरिषद् पुनर्गठन गर्ने कुरा प्रधानमन्त्रीको अधिकार भएको बताउँछन् । उनी भन्छन्, ‘त्यो उहाँको अधिकारको कुरा हो । आवश्यकता अनुसार गर्न सक्नुहुन्छ ।’ कांग्रेसले राष्ट्रियसभाको निर्वाचनपछि मात्रै पुनर्गठन गर्ने अडान राखे अहिले माओवादी, नेकपा एससहित साना दलबाट सरकारमा गएका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ पठाउनसक्ने नेताहरु बताउँछन् ।

प्रधानमन्त्रीबाट मन्त्रिपरिषद् पुनर्गठनको विषयमा पार्टीमा औपचारिक रुपमा कुनै जानकारी नआएको नेकपा एसका सचिव जीवनराम श्रेष्ठले बताए । उनले भने, ‘अहिलेसम्म त्यसबारेमा प्रधानमन्त्रीबाट केही आएको छैन । त्यसैले पार्टीको बैठकमा त्यसबारेमा छलफल भएको छैन ।’ पछिल्लो समय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबाहेक अन्य मन्त्रीहरूको कार्यसम्पादन राम्रो देखिएको छैन । कांग्रेसबाट सरकारको नेतृत्व गरेर सरकारमा गएका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासहित पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको कामप्रति सभापति शेरबहादुर देउवा सन्तुष्ट छैनन् ।

कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरूको काम सन्तोषजनक नभएको भन्दै शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेललगायत नेताहरुले सार्वजनिकरूपमै प्रश्न उठाउँदै आइरहेका छन् । नेकपा एसमा पनि सरकारमा भएका मन्त्रीको कामप्रति बैठकमै चर्को आलोचना भएको थियो । साना दलबाट सरकार गएकासहित अधिकांश मन्त्रीहरू गुमनाम छन् ।