बलात्कार अभियोगमा माओवादी नेता पक्राउ

बलात्कार अभियोगमा माओवादी नेता पक्राउ
फाईल तस्वीर

काठमाडौं । बलात्कारको आरोपमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका पूर्वपीए रहेका माओवादी नेता भूमिनन्द देवकोटा पक्राउ परेका छन् । प्रहरीले काठमाडौं महानगरपालिका–३२ मा बस्दै आएका गोरखाका ६५ वर्षीय देवकोटालाई गत साता पक्राउ गरेको हो । पीडित भनिएकी १७ वर्षीया किशोरी देवकोटाकै घरमा बस्दै आएकी थिइन् ।

अनुसन्धानका क्रममा ६ वर्षको उमेरदेखि पीडित बालिकालाई देवकोटाले आफ्नो घरमा संरक्षण दिएर राखेको बुझिएको प्रहरीले जनाएको छ । प्रहरीमा पीडित बालिकाले दिएको जाहेरीमा देवकोटाले विगत १ वर्षदेखि उनलाई जबरजस्ती करणी गरेको उल्लेख छ । गोरखा स्थायी घर भएका देवकोटाको काठमाडौंस्थित घरबाट गत तिहारको समयमा पीडित किशोरी यौन अत्याचार सहन नसकेर निस्किएको प्रहरीले जनाएको छ । देवकोटाको घरबाट निस्किएपछि उनी एक युवकसँग बस्दै आएकी थिइन् । प्रहरीले प्रेमी भनिएका ती युवकलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा पेप्सीकोला बस्ने २७ वर्षका दीपेश नेपाली रहेका छन् ।

नेपालीले पीडित भनिएकी किशोरीलाई कात्तिक ३० गते बलात्कार गरेको जाहेरीमा उल्लेख छ । हाल दुवै जनालाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।